नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ ।

बुधबार नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज २५ करोड १२ लाख रुपैयाँ बढी कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४५ कम्पनीका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयरहरु १ लाख ३८ हजार २५६ पटक किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० अंकमा पुग्दा कारोबार रकम १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँमा पुगेको थियो ।

बुधबारको कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्राको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रो पावर र होटल फरेष्टको सेयर धेरै बढ्नेको शीर्ष ५ मा रहेका छन् ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर रहेको छ । ङादी ग्रुप पावरको ५२ करोड ४७ लाख ४७ हजार रुपैयाँको सेयर किनबेच हुँदा अपी पावर कम्पनी ५१ करोड ९६ लाख ७४ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा शिभम् सिमेन्ट रहेको छ भने चौथो स्थानमा सुपर मादी हाइड्रो र पाँचौ स्थानमा एसवाई प्यानल रहेको छ ।

बुधबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । मंगलबार ५० खर्ब १८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४९ खर्ब ८० अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ३८ अर्ब रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।