काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिएकी छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधित्व गर्दै आएकी छन्।
विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी छन्। सामान्य पारिवारिक परिवेशमा हुर्किएकी उनीका बुबा कृष्णप्रसाद गौतम, आमा र एक भाइ रहेका छन्।
शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरबाट पूरा गरेकी थिइन्। त्यसपछि उनले कानुन विषयमा स्नातक उत्तीर्ण गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छिन्।
राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार र सार्वजनिक सरोकारका विषयमा सक्रिय गौतम विभिन्न युवा अभियान तथा नीतिगत बहसमा सहभागी हुँदै आएकी थिइन्। कानुनी समस्या तथा अधिकार उल्लङ्घनका विषयलाई प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनले हासिल गरेकी छन्।
संसद्मा उनले नीतिगत बहस, जनसरोकार र सुधारका विषय उठाउँदै आएकी छन्। कानुन, न्याय तथा मानव अधिकार समितिकी पूर्वसदस्यका रूपमा उनले विधेयक निर्माण, मानव अधिकार र न्यायका क्षेत्रमा अनुभव बटुलेकी छन्। साथै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी परामर्शदाताका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।
गौतमले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो उपस्थिति जनाउँदै संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय सङ्घको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छन्। सार्वजनिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्ने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिँदै आएकी छन्। निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन्।
राजनीतिमा प्रवेश गर्नुअघि उनी सञ्चार क्षेत्रमा पनि सक्रिय थिइन्। विशेषगरी स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस र जनचेतनामूलक कार्यक्रममार्फत सकारात्मक प्रभाव छोडेकी थिइन्।
सन् २०२३ मा ‘वन यङ वल्र्ड–पोलिटिसियन अफ द इयर’ अवार्डबाट सम्मानित गौतम रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत हुन्। नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका आधारमा उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ।












प्रतिक्रिया