बीमा कम्पनीहरुले बुझाउन थाले आइटी अडिटको प्रतिवेदन

0
Shares

बीमा समितिमा बीमा कम्पनीहरुले आइटी अडिटको प्रतिवेदन बुझाउन थालेका छन् । समितिले बीमा कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिट गरि सोको प्रतिवेदन पेश गर्न दिएको निर्देशन बमोजिम कम्पनीहरुले आइटी अडिटको प्रतिवेदन पेश गर्न थालेका हुन् ।

बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै समितिले गत फागुन १४ गते बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ जारी गरेको थियो । उक्त मार्गदर्शनको परिच्छेद ५ मा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा सूचना प्रविधिको अडिट गरि सोको प्रतिवेदन समितिमा बुझाउन निर्देशन दिएको थियो ।

निर्देशन दिएको एक वर्ष वितेपछि कम्पनीहरुले बल्ल आइटी अडिटको काम अगाडि बढाएका छन् । बीमा कम्पनीहरुका लागि आइटी अडिट नयाँ सुरुवात भएका कारण समयमा नै काम अघि बढ्न नसकेको समितिको भनाई छ । नयाँ अभ्यास र कोरोना महामारीको कारण बीमा कम्पनीहरुको यो काममा ढिलाई आएको समितिले जनाएको छ । ईतिहासमा नै बीमा कम्पनीहरुमा आइटी अडिटको अभ्यास नौलो रहेको समितिको तर्क छ ।

ज्योति लाइफले बुझायो

ज्योति लाइफ इन्स्योरेन्सले आइटी अडिट गरि सोको प्रतिवेदन बीमा समितिमा पेश गरेको समितिका आइटी अफिसर मिलन राज नेपालीले जानकारी दिए । उक्त कम्पनीले बुझाएको आइटी अडिटको प्रतिवेदनलाई समितिले पास गरेको उनले बताए । नयाँ अभ्यास र कोरोना भाइरसले सृजना गरेको विषम परिस्थतिका कारण समयमा नै कम्पनीहरुले आइटी अडिटको प्रतिवेदन समितिमा पेश गर्न नसकेको उनको भनाई छ । उनका अनुसार ज्योति लाइफ सहित अन्य केही कम्पनीहरुले पनि आइटी अडिटको प्रतिवेदन बुझाएका छन् । समयमा नै आइटी अडिटको प्रतिवेदन बुझाउन नसक्ने कम्पनीहरुलाई चैत्र १५ गतेसम्म अन्तिम समय दिईएको उनले जानकारी दिए ।

के छ मार्गदर्शनमा ?

समितिले जारी गरेको बीमकको सूचना प्रविधि मार्गदर्शनको परिच्छेद ५ मा सबै बीमा कम्पनीलाई आइटी अडिट गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीले ईजाजतपत्र प्राप्त सूचना प्रविधि सम्बन्धी परिक्षकबाट वार्षिक रुपमा आफ्नो सूचना प्रणालीको परिक्षण गर्नुपर्ने छ । आर्थिक वर्ष सकिएको ६ महिनामा सोको प्रतिवेदन भित्र समितिमा पेश गर्नु पर्नेछ ।

उक्त निर्देशिकामा आइटी अडिट गर्दा समेटिनु पर्ने विषयवस्तुहरुको बारेमा समेत उल्लेख छ । आइटी अडिट गर्दा प्रयोगकर्ताको आधिकारिकता, आन्तरिक तथा बाह्य सम्भावित जोखिमहरु, डाटाबेस, कारोबार, नेटवर्क, हार्डवेयरको सुरक्षा, प्रणालीमा पहुँच कायम गर्ने अनधिकृत प्रयत्न सम्बन्धी विषय, प्रत्यक्ष पहुँच रोक्न सक्ने उपयाहरु लगायतका विषयहरु समावेश गर्नु पर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।