आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन्। नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शंकर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन्।
विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल सुरु गरे। मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल पनि संचालन गरे। पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर र्याक भरेको उनले बताए।
उनले भने, ‘पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ।‘ ८० हजार ऋण खोजेर ३० हजारको र्याक बनाएपछि ५० हजारको सामानबाट उनले पसल सुरु गरेका थिए। सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने-‘दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो।‘
आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल सुरु गरे। होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने-‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ।‘ क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको भण्डारीले बताए।
त्यतिबेला उनीसँग एक साझेदार पनि थिए। निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो। विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उनले होटल गरे। दुवै होटलको सफलताले अगाडि बढाइरह्यो। उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल सुरु गरे। विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल संचालन गरे।
होटलको व्यवसाय फस्टाउँदै गएपछि रेष्टुराँ व्यवसायमा लागे। त्यससँगै विसं २०७३ मा सुन्धारामा प्रेसिडेन्ट सेकुवा सुरु गरे। सेकुवा व्यवसायमा पनि उनले सफलता पाए। क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा उनले सुरु गरे। भरतपुरमा सेकुवाको व्यापार सुरुसँगै उनलाई चितवनमा ताससहितको रेष्टुरेन्ट खोल्ने योजना बनाए। यही रहरले नारायणगढको पुलचोकमा सोमबारबाट प्रेसिडेन्ट तास बजार सुरु गरे।
चितवनमा प्रख्यात खसीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ल्याएका छन्। ‘हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ,’ उनले भने। उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै गर्दैछन् भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया सुरु गरेका छन्। रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनले आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई सेयर दिएका छन्। भण्डारीले आफ्नो व्यवसायलाई देशभर लैजाने योजना बनाएका छन्।
‘काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु,’ होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने ‘अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ।‘ २५० जना हाराहारीलाई उनले रोजगारी दिएका छन्।
एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न ५० लाखदेखि दुई करोडसम्म खर्च भएको भण्डारीले बताए। कम खर्चमा बनेको सुन्धाराको होटलमा ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा दुई करोड खर्च भएको उनले बताए। उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा समेत केही रकम खर्चिने गरेका छन्।
गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण भण्डारीले ब्योहोर्दै आएका छन्। चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उनले समय समय सहयोग दिँदै आएको उनले बताए। आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उनले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गरे।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया