देशमा छरिएर रहेको स-सानो रकम संकलन गर्ने गरि एक वर्ष वा सो भन्दा बढी परिपक्क समायावधि भएका प्रत्याभूतिहरुको खरिद बिक्री प्रक्रिया सञ्चालन गर्ने स्थानलाई पूँजीबजारका नामले चिनिन्छ । सरकारी वित्त निकाय र साङ्गठनिक संस्थाहरुलाई आवश्यक पर्ने ठूलो पूँजीको माग र आपूर्ति पूरा गर्न प्राथमिक बजार र द्वितीय बजार गरी दुई चरणमा पूँजी बजारले कारोबार सञ्चालन गर्दछ ।
प्रथम पटक निष्काशन गरिएका प्रतिभुतिहरु खरीद बिक्रीको लागी प्राथमिक बजार र प्रथम पटक निष्काशन पश्चात पुनः खरिद बिक्री गर्नको लागी द्वितिय वा सहायक बजारको संलग्नता रहन्छ । पूँजीबजार त्यस्तो वित्तीय बजार पनि हो जसले दीर्घकालीन कोषको परिचालनमा मद्धत गर्दछ । राष्ट्रको केन्द्रीय बैंंकको प्रत्यक्ष नियामनमा रहेका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, सहकारी, सेक्युरीटी मार्केट, स्टक मार्केटहरुले शेयर, डिवेन्चर, ऋणपत्र, वण्ड, म्युचुअल फण्ड, दीर्घकालीन निक्षेप र दीर्घकालीन कर्जा जस्ता प्रमुख उपकरण मार्फत कारोबार गर्ने गर्दछन् ।
यी संस्थाको लागि आवश्यक तरलता संकलन, भौतिक निर्माणका ठूला परियोजना संचालन गर्न वा राष्ट्रको घाटा बजेट पूर्तिको लागि पूँजीबजार मार्फत पूँजी निर्माण गरिन्छ । पूँजी बजार विश्वमै आर्थिक वृद्धि र पूँजी निर्माणको एउटा औजार समेत बनेको पाइन्छ ।
पूँजी बजारको इतिहास हेर्दा नेपालमा वि.स. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना र विराटनगर जुट मिलले प्रथम पटक सर्वसाधारणलाई धितोपत्र निष्काशन गरेपछि पूँजीबजारको औपचारिक सुरुवात भएको पाइन्छ ।
त्यसपछि क्रमशः नेपाल औद्योगिक विकास निगम २०१६, कर्मचारी सञ्चय कोष २०१९ र कृषि विकास बैंक २०२४ जस्ता वित्तीय संस्थाहरुको स्थापनासँगै पूँजीबजारले थप मलजल पाएर हलक्कै हुर्केको पाइन्छ ।
कम्पनी ऐन २०२१ को व्यवस्था पश्चात सरकारी बण्डको निष्काशन तथा पूँजीबजारको विकास र विस्तार गर्ने उद्धेश्य बमोजिम वि.स. २०३७ मा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापनाले पूँजीबजारलाई मूर्त रुप दिएको पाईन्छ । इ.स. १९९३ पछि यसलाई नेपाल स्टक एक्सचेनञ्ज वा छोटकरीमा नेप्से भन्ने गरिन्छ । वि.स. २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र केन्द्रको स्थापनापछि पूँजीबजारले आधिकारिक रुपमा कारोबार सुरु गरेको पाइन्छ । हाल नेप्सेमा सुचिकृत कम्पनीहरुको संख्या लगभग दुईसय भन्दा बढी रहेका छन् भने अन्य विभिन्न ब्रोकर मध्यस्थकर्ता मार्फत पूँजीबजारको कारोबार उच्च गतिमा अगाडि बढिरहेको देखिन्छ ।
पूँजीबजारको यस्तो रोचक र चाखलाग्दो इतिहासका गतिविधिसँग मितेरी गाँस्दै विभिन्न उपकरण मार्फत कारोबार गर्नेको भीड लाग्ने गरेको छ । विगतमा महिला सहभागिता अलि कम जस्तो देखिएपनी प्रविधिको विकास, महिलाहरुमा आएको जागरुकता, पूँजीबजारले सुरु गरेको अनलाईन प्रणाली कारोबार र वित्तीय साक्षरताको कारण पूँजीबजारमा महिलाको सक्रिय सहभागिता दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो उपस्थितिले महिला सशक्तिकरणमा ठूलै बदलाव आईरहेको अनुमान पनि गर्न सकिन्छ ।
महिला सशक्तिकरणको अर्थ महिलाहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हो । सशक्तिकरण शब्द महिला जीवनमा जोडिरहँदा महिलाहरुको गाँस, बास र कपासका अलावा शिक्षा, स्वास्थ, अधिकार, योग्यता, सम्मान, कदर, गौरव, आर्थिक सक्षमता, स्वरोजगार, नयाँ अवसर, समनता र बौद्धिक क्षमतामा सकारात्मक वृद्धि हुने कुरा बुझिन्छ । सूचना, ज्ञान, स्रोत र साधनमा महिलाहरुको पहुँच विस्तार र निर्णय प्रक्रियामा सक्रिय सहभागीता हुने जस्ता पक्षले महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक रुपलाई समेत सक्षम र सबल हुने हुन्छ ।
विश्वका अधिकांश महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने दृष्टिकोणलाई चिर्दै महिलाको सशक्तता र सक्षमताको बुलन्द आवाज उठाउन सबै राष्ट्रहरुले महिला पुरुष प्रतिको असमानतालाई हटाउँदै समान नागरिकको हैसियतमा हेर्नुपर्ने र सोही अनुसारका नियम कानुनको व्यावस्था गर्नुपर्ने भन्दै सन् १९४७ मा संयुक्त राष्ट्र संघले संयुक्त राष्ट्र संघीय महिला स्थिति आयोग गठन गरेको थियो । यसैबीचमा महिलाहरुको लागी आधारभूत शिक्षा, स्वास्थ्य, सामाजिक, राजनितिक, आर्थिक र निर्णायक क्षेत्रमा अग्रसर गराउने कार्यक्रम र गतिविधि पनी विश्व जगतमा छरिएर अभियानकै गति लिएको इतिहास जिवित छ ।
सोही बमोजिम महिलाहरुलाई विभिन्न किसिमका अवसर, सार्वजनिक गतिविधि, स्वरोजगार मूलक कार्यक्रम मार्फत आर्थिक अवस्थामा सुधार र निर्णय प्रक्रियामा सक्रिय सहभागिता समेत गराउने प्रयत्न नेपालमा पनि भैरहेका छन् । साँच्चै विश्वविख्यात दार्शनिक एरीष्टोटलको एउटा भनाई अनुसार नारी जगतको उन्नती र अवनतिबाट नै राष्ट्रको उन्नती र अवनती निर्धारण हुन्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने बेला आएको छ ।
एउटा महिला हरेक पक्षमा मजबुत र सशक्त हुनु भनेको सिङ्गो परिवार, समाज र राष्ट्रलाई नै समृद्ध तुल्याउनु हो । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न महिला सशक्तिकरण अपरिहार्य जस्तै बनेको छ । यसै सन्दर्भलाई आत्मसाथ गर्दै महिलाको आर्थिक पक्ष मजवुत बनाउन महिलाहरुसँग भएको स सानो रकम संकलन गरी पूँजी बजारमा लगानी गर्ने, विभिन्न समुह, सहकारी मार्फत पनी प्रतिभूतिहरु खरिद बिक्री गर्ने परम्पराको विकास भएको हो ।
परिवारमा महिलाको आर्थिक हैसियत बलियो र तन्दुरुस्त हुनु भनेकै पारिवारिक सम्पन्नताको संकेत हो । यसको मतलब एक परिवार भित्रको एक महिला आत्मनिर्भर हुनु भनेको त्यो परिवार उच्च वर्गमा गणना हुनु हो । परिवार परिवार मिलेर बनेको समुदाय अन्ततः सम्पन्न भै सिङ्गो राष्ट्र नै विकशीत राष्ट« बन्दछ । यो सबै हुनुको पछाडि महिला सशक्तिकरण को अहंम भुमिका रहन्छ । अहिलेको अवस्थामा पूँजीबजारले महिलाहरुको आर्थिक वृद्धिको लागी सहज र सरल लगानी गर्न सकिने वित्तीय औजारहरुको निर्माण गरेको छ जसले महिलाहरुको साथमा रहेका भौतिक सम्पत्ति, सुन, चाँदी लाई समेत तरल साधनमा परिवर्तन गराई लगानी बढाउन सहयोग पुर्याएको छ ।
हाल नेपालको सन्दर्भलाई कोट्याउँदा प्रायः महिलाहरु बिहान बेलुका घर धन्दामा व्यस्त हुने गर्दछन् । पूँजीबजार खुल्ने समय दिउँसो भएकोले एकथरी महिला अन्य कामकाज बाहेक बचेको दिउँसोको समयलाई सदुपयोग गरी आफूसँग भएको पेवा, दक्षिणा, कृषिजन्य उत्पादन, स्वरोजगार र रोजगारबाट भएको आम्दानी लगायतका स-सानो रकमलाई पूँजीबजारमा लगानी गरिरहेका पाईन्छन् भने अर्काथरी महिला आफ्नो सबै समय र लगानी पूँजीबजारमै लगाई यसैमा भविस्य खोजिरहेको देखिनु सकारात्मक पक्ष हो । यसको एक ज्वलन्त उदाहरण नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई लिन सकिन्छ । यस संघमा पहिलो महिला अध्यक्ष भएर पूँजीबजारमा महिलाको सहभागिता बढाउनमा समेत उनले योगदान गरिरहेकी छिन् ।
त्यस्तै धेरै महिलाहरुलाई पूँजीबजारले प्रतक्ष्य र अप्रतक्ष्य रोजगारीको अवसर पनि दिएको देखिन्छ । अहिलेको बचतको केही भागलाई शेयर, डिबेन्चर, सेभिङ बण्ड, ट्रेजरी बण्ड, कमन स्टक, जस्ता दीर्घकालीन ऋणपत्रमा गरिएका लगानीले पूँजीबजारको विस्तारसँगै महिलाहरुको आर्थिकस्तर उन्नति भइहेको छ ।
पूँजी बजारको एक अंश शेयर बजार मार्फत तरलता व्यावस्थापनको लागि विभिन्न बैंक तथा वित्तीय संस्था, बचत तथा ऋण सहकारी संस्था, लघुवित्त कम्पनी, सेक्युरिटी मार्केट जस्ता निकायहरुले जारी गरेका आइपीओ खरीद गर्नेदेखि सहायक पूँजीबजारमा हुने शेयर कारोबारमा पनि महिलाहरुको उत्तिकै चासो बढेको छ । यसले महिलाहरुमा बजार विश्लेषण गर्ने, शेयर खरीद बिक्री गरि आत्मनिर्भर हुने र ब्यापार ब्यवसायमा समेत संलग्न हुन प्रेरित गरेको छ ।
देशमा महिला उद्यमशिलताको विकास गर्न पूँजीबजारले आर्थिक स्रोत र साधनको जोहो गर्दै आएको छ जसमा सरकारी अनुदान, वित्तीय क्षेत्रबाट ऋण सहयोग, सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग, महिला उद्यमशिलता कर्जा लगायतका सुविधा पर्दछन् । जसले महिला सशक्तिकरणमा मुख्य भुमिका खेल्दछ । सरकारले बनाएका महिलामैत्री नीति नियम, कर छुट र आरक्षण कोटाहरुले महिला स्वरोजगार, उद्यमशिलतालाई प्रोत्साहित गर्नुका साथै बचत गर्ने बानीको विकाव, पूँजी निर्माण गरि परिचालन गर्ने क्षमता वृद्धि भई भित्रै देखि आत्मबल बढिरहेको अनुभूति गर्न सकिन्छ । यस्ता तथ्यहरुले पूँजीबजार मार्फत महिलाको जीवनमा पुर्याएको योगदानले थप सशक्तताको आभाश दिलाएको छ ।
पूँजीबजार मार्फत संकलित रकमले सञ्चालनमा ल्याएका भौतिक पूर्वाधार, ठूल्ठूला हाइड्रोपावर सञ्चालन देखि बैंकिङ्ग क्षेत्रले गर्ने कर्जा लगानीले परिमाणात्मक र गुणात्मक गरि दुबै क्षेत्रमा महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग भइरहेको छ । यतिमात्र नभई महिलाहरुको अनुत्पादक क्षेत्रमा हुने खर्च समेत नियन्त्रण भएको छ । यसबाट महिलाले आर्थिक स्रोत र उपलब्धिको न्यायोचित वितरण गर्न सिकेका छन् ।
औद्योगिक विकासले महिला मजदुरहरुको आर्थिक स्तरोन्नती भएको छ । यसले देशकै खुलाबजार अर्थतन्त्रलाई सवलिकरण गर्ने र समृद्ध मुलुकको निर्माण अभियानमा समेत थप बल पुगेको छ । सरसर्ती हेर्दा पूँजीबजारमा संलग्न महिलाहरुको जीवनशैली नै परिवर्तन गरिदिएको देखिन्छ । शहरदेखि ग्रामीण भेगका महिलाहरुको वित्तीय साक्षरता, वित्तीय सामवेशिता, लैङ्गिक सामानताका साथै महिला सशक्तिकरणको लागि उक्लिने खुट्किलाको रुपमा पूँजीबजारले काम गरिरहेको पाइन्छ । यसका साथै देशमा उत्पादनमुखी उद्योगको लागि पूँजीबजारको आवश्यकता पर्दछ । पूँजीबजार मार्फत उत्पादनमुखी उद्योगमा महिलाको सहभागिता बढाउन , स्वरोजगार तथा महिला उद्यमीलाई थप उत्साहित बनाउने प्रचुर सम्भावना रहेका छन् । यस्तो सुनौलो अवसर हुँदाहुँदै पनि हाम्रो समाज पुरुष प्रधान छ तसर्थ महिलाहरु हरेक क्षेत्रमा पछि परेका छन् । महिला सशक्तिकरणको लागी कानुनी प्रावधान र देशको संविधानमा महिलाको लागि हालको संविधानमा ३३ प्रतिशत आरक्षणको व्यवस्था भएता पनि पूर्ण रुपमा व्यवहारमा लागू भएको भने देखिँदैन ।
महिलाले काम गर्नै सक्दैनन् र उनीहरुमा योग्यता र दक्षता एवं व्यवसायिक ज्ञानको अभाव छ जस्ता आरोप लगाई नेतृत्व तथा व्यवसायिक अवसर एवँ राज्यको सुविधाबाट पछाडि धकेल्ने प्रवृति अहिले पनि हाबी रहेको छ । यस्ता भ्रमका साथै महिलाहरुमा वित्तीय चेतनाको स्तर कमजोर हुनु, बैंकिङ्ग क्षेत्रको पहुँचमा कमी हुनु, महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने सोच, महिलाले आर्थिक पक्षको जिम्मा लिँदा गरिने अविश्वास, महिला प्रति हुने विभेद र अहंङ्कारबाट सिर्जित विभिन्न किसिमका हिंसात्मक गतिविधि र महिला आफैँ अगाडि बढ्न हिचकिचाउने जस्ता कारणहरुले गर्दा पूँजीबजारभित्र महिलाहरुको उल्लेख्य सहभागितामा अवरोध आइरहेको देखिन्छ ।
पूँजीबजारमा महिलाको लगानी बढाउन आवश्यक आम्दानी हुने क्षेत्र भनेको महिला उद्यमशिलता पनी एक हो । तर यसको लागी महिला उद्यमीहरुले थुप्रै समस्या भोग्नु परेको छ । जस्तै लगानी गर्न पूँजीको अभाव, कच्चा पदार्थको अभाव, ज्ञानको अभाव, पुरुषको अधिपत्य रहेको समाज, पारिवारिक दबाब, सामाजिक संरचनाको कारण गतिशीलताको अभाव, प्रतिस्पर्धात्मक जोखिम व्यहोर्ने क्षमताको अभाव, प्राविधिक सीप र दक्षताको कमी जस्ता थुप्रै समस्या भोग्नु परेका छन् । यी यावत समस्या भए पनि पूँजीबजारले गर्ने लगानी मार्फत भने महिला उद्यमशिलताको क्षेत्रमा विगत केहि समयदेखि उत्साहजनक प्रगति भैइरहेकै छ ।
आगामी दिनहरुमा पूँजीबजारमा महिलाको सहभागीता बढाउन सकारात्मक विभेदका निर्णय गरि अगाडि ल्याउनुपर्ने देखिन्छ । अझै थप सुदृढ गर्नका लागी शहरी क्षेत्रमा मात्र नभई दूर (दराजमा रहेका महिलाहरुले आफ्नै घरमा बसी बसी मोबाईल बाट पनि पूँजीबजारमा जोडीन सकुन् भन्ने हेतुले विभिन्न किसीमका अनलाईन र अफलाईन मोबाईल एप्सहरु प्रचलनमा ल्याउनु पर्दछ । पूँजीबजाको साधनको रुपमा रहेको रुपैयाँ पैसाको भौतिक कारोबारको लागि बैकिङ्ग क्षेत्रमा पहुँच बढाउने पूँजीबजार सम्बन्धि जनचेतना र ज्ञान बढाउन जरुरी छ ।
बैंकिङ्ग क्षेत्रसँग सहकार्य गरी चाहानेहरुको लागि बैंक खाता सञ्चालनसँगै निशुल्क डिम्याट खाता खोल्ने व्यावस्था पनि गर्नु पर्दछ । साथै पूँजीबजारको कारोवार सञ्चालन प्रक्रिया र विश्लेषण गर्ने तरिका बारेमा जानकारी दिने जस्ता गतिविधि बढाउनुपर्ने देखिन्छ । कारोबार सञ्चालन प्रणालीमा हुने बेथितिहरु रोक्न नेपाल राष्ट्र बैंक , नेपाल धितोपत्र बोर्ड र नेपाल सरकार लगाएतका मुख्य मुख्य नियामक निकायको प्रत्यक्ष निगरानी बढाउनुपर्ने देखिन्छ ।
विगतमा भए देखिएका कमीकमजोरीहरु तुरुन्तै सम्बोधन हुने प्रणाली निर्माण गर्नपर्ने हुनसक्छ । समाजमा महिलाप्रति हेरिने साँघुरो दृष्टिकोण र गरिने व्यवहार परिवर्तन हुनु जरुरी छ । ग्रामीण भेगतिर वित्तीय प्रणालीमा जानै झन्झट मान्ने, पूँजीबजारमा गरिने कारोबारलाई भाग्य चिट्ठासँग तुलना गर्ने भ्रम, लोभले लाभ लाभले विलाप हुन्छ की भनेर डर, साहुमहाजनसँगै कारोबार गर्न सहज मान्ने चलनहरुको अन्त्य गर्न पूँजीबजारले शाखा विस्तारमा जोड दिन आवस्यक छ ।
पश्चिमा देशहरुले बच्चै देखि जन्मदिनमा शेयर गीफ्ट दिने, आई.पी.ओ भरिदिने जस्ता प्रचलनहरु आत्मसाथ गर्न प्रेरित गर्ने, लाखौं लगानी गरेर विदेशिने ग्रामीण तथा सहरीया महिलाहरुलाई पूँजीबजारको ज्ञान, महत्व र दीर्घकालीन फाईदाको बारेमा र विदेश जान लाग्ने खर्च स्वदेशमै लगानी गरी स्वरोजगारका अवसर प्राप्त गर्न उत्साहित हुने गरी देशभरी अभियान चलाउने जस्ता गतीविधिले पूँजीबजार मार्फत महिलाको सशक्तिकरणमा समेत थप सुदृढ हुने कुरामा कसैको विमति नरहला ।
– न्यौपाने हाल पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रमा एमए तहमा अध्ययनरत छिन्।
*****
प्रतिक्रिया