नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण


काठमाडौँ। विश्व वैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

यो गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा २.३ प्रतिशत बिन्दुले न्यून हो । गत वर्षको अनुमानित आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेको छ ।

विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विश्व बैंकले बुधबार प्रक्षेपण गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार मध्यपूर्वमा जारी द्वन्द्व र गत भदौको आन्तरिक (जेनजी) आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने देखिएको हो ।

आगामी दिनमा पुनर्निर्माण कार्य, जलविद्युतको निरन्तर विस्तार र २०८४ मा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

विश्व बैंकले भनेको छ (‘सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति श्रृंखलामा आउन सक्ने सम्भावित अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । ‘आर्थिक वृद्धि दबाब भएको उल्लेख गर्दै विश्व बैंकले मध्यपूर्वमा लम्बिएको द्वन्द्वले पर्यटक आगमन घटाउन सक्ने, रेमिट्यान्स आप्रवाहमा कमी ल्याउन सक्न बताएको छ । यसले समग्र उपभोग कमजोर बनाउने र समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्ने अनुमान गरिएको छ ।

विश्व बैंकले सकारात्मक पक्षलाई पनि उल्लेख गरेको छ । जसमा फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सुधारिएको राजनीतिक स्थिरता, सबल समष्टिगत आर्थिक व्यवस्थापन, पर्याप्त विदेशी विनिमय सञ्चिति र निरन्तर संरचनागत सुधारले लगानीकर्ताको मनोबल र विश्वास बढ्ने हुँदा निजी लगानी बढ्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।