सबैभन्दा धेरै सुन प्रधानमन्त्री बालेनसँग, मुख्य स्रोत समाजिक सञ्जाल, अन्य मन्त्री कोसँग कति छ ?


काठमाडौं । प्रभानमन्त्री वालेन्द्र शाहलगायत अन्य मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ ।

रास्वपाले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो । जसअनुसार सम्पत्ती सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको छ । उनकी पत्नी सबिना काफ्लेसँग १ सय ९० तोला सुन रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नै आफ्नै सम्पत्ति विवरणमा आफ्नो मुख्य कमाईकोस्थल समाजिक सञ्जाललाई देखाएका छन् । उनको कमाइको स्रोत समाजिक सञ्जाल भएको बताएका छन् ।

उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको व्यक्तिगत नाममा घर जग्गा छैन । उनको आमाको नाममा ५ आना, धनुषामा १.२ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ ।

गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङको ८९ तोला सुन छ । उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको छ ।

अर्थमन्त्री स्वर्णीम वाग्ले


अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका छन् । उनले आफुसँग चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् । उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।
उनले अन्तराष्ट्रिय राेजगारीबाट रकम जोडेको बताएका छन् ।

त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् । उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् ।

त्यस्तै उनले ऋण पनि छ । ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालको बैंक ब्यालेन्स १३ लाख रुपैया छ भने सुन मात्र २२ तोला छ । टोखामा ६ आना घरजग्गा छ ।

उक्त जग्गा उनको बुबाको नाममा रहेको छ । त्यस्तै बुवाकै नाममा तनहुँ नवलपुर र नेपालगञ्जग गरी २८ रोपनी र २ कठ्ठा जग्गा छ । श्रीमति र आफ्नो नाममा विभिन्न कम्पनीमा शेयर उनको शेयर छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा उनले सुन र चाँदी पैतृक र विवाहबाट प्राप्त भनेका छन् । उनले विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

त्यस्तै सेयरमा १ ४५ लाख ४८ हजार ४२० रुपैयाँ रहेको विवरण छ । उनीसँग गाडी, स्कुटर र इभी गाडी रहेको पनि उल्लेख छ ।

कानुनमन्त्री सोबिता गौतम

कानुनमन्त्री सोविता गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् ।

उनीसँग १५ तोला सुन ९ तोला चाँदी र १ तोला हिरा रहेको छ । आफ्नो सम्पत्ति विवरणमा काठमाडौं र चितवनमा दुई वटा घर रहेको उल्लेख गरेकी छिन् । श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौंमा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको उनले उल्लेख गरेकी छिन् ।

त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जस अनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् ।

एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

भौतिकमन्त्री सुनील लम्साल

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स छ ।सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ ।

उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् ।

संघीय मामिलामन्त्री प्रतिभा रावल

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको काठमाडौंमा जग्गा छ । यसको स्रोत श्रीमानको आय भनिएको छ ।

काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेका उल्लेख छ । आफूसँग २५ तोला सुन रहेको र स्रोत स्वआर्जन तथा परिवारको उपहार भनेकी छन् ।

उनले विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी रकम बचत रहेको र उक्त रकम श्रीमानको आयबाट भएको उल्लेख गरेकी छन् । उनले २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री सस्मित पोखरेल

सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।

उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् ।

उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् ।

बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् ।

आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।
उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ ।

बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् ।उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

कृषिमन्त्री गीता चौधरी

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

उनको नाममा ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।