सीका लागि ट्रम्पको राजकीय रात्रिभोज


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन । रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए ।

रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई प्रवद्र्धन गर्ने सम्बन्ध निर्माण गर्न सकिने धारणा व्यक्त गरे । सीले पनि दुवै देशका महत्त्वाकाङ्क्षी राष्ट्रिय लक्ष्य पारस्परिक रूपमा सुदृढ हुनसक्ने बताए।

सीको भ्रमणका क्रममा ताइवान, व्यापार र कृत्रिम बौद्धिकता (एआई) लगायतका विषयमा दुई नेताबीच छलफल भएको थियो । ट्रम्पले सीलाई मरीन वन राष्ट्रपतीय हेलिकप्टर तथा त्यसका लागि निर्माण गरिएको नयाँ हेलिप्याडसमेत देखाएका थिए ।

रात्रिभोजका क्रममा ट्रम्पले ह्वाइट हाउसको दक्षिणी भागमा निर्माण भइरहेको नयाँ बलरुमबारे चर्चा गर्दै सहभागीहरूलाई निर्माणस्थल अवलोकन गर्न निम्तो दिए। उनले उक्त संरचनालाई ‘ग्रेट हल अफ द पिपल’ सँग तुलना गरेका थिए । ‘ग्रेट हल अफ द पिपल’ मा सीले गत मेमा ट्रम्पका लागि राजकीय रात्रिभोज आयोजना गरेका थिए ।

रात्रिभोजमा ओपनएआईका साम अल्टम्यान, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस, टेस्ला र स्पेसएक्सका एलन मस्क, गुगल तथा अल्फाबेटका सुन्दर पिचाईलगायत प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी  थिए । ट्रम्पले सीलाई आफू र प्रथम महिला मेलानिया ट्रम्पको सहकार्यमा तयार पारिएको चीलको मूर्ति उपहार दिएका थिए ।

रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परिकार, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाई प्रस्तुत गरिएको थियो । ट्रम्पले बुधबार सी र उहाँकी श्रीमती पेङ लियुआनलाई संयुक्त बेस एन्ड्र्युजमै पुगेर स्वागत गरेका थिए ।

यसअघि मेमा बेइजिङ भ्रमणका क्रममा सीले ट्रम्पका लागि ‘ग्रेट हल अफ द पिपल’ मा राजकीय रात्रिभोज आयोजना गरेका थिए । सन् २०१५ मा भने तत्कालीन राष्ट्रपति बाराक ओबामाले सीलाई राजकीय भ्रमणमा स्वागत गर्ने तयारी गर्दा ट्रम्पले त्यस्तो भव्य स्वागतको आलोचना गर्दै सीलाई म्याकडोनाल्डमा लगेर वार्तामा फर्कनुपर्ने टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।