सुनको आपूर्ति बढाउने निर्णय छिट्टै हुन्छ : अर्थमन्त्री पौडेल


सरकारले सुन आयातको सीमा खुकुलो बनाउन सकारात्मक भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेले बताए । बजारमा सुनको चरम अभाव देखिन थालेपछि आयात कोटा वृद्धिगर्न सरकार तयार रहेको मन्त्री पौडेलले बताएका हुन ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताएका हुन । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको बताउदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने समेतजानकारी दिएका हुन ।

माग र आपूर्तिवीच चरम असन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेका थिए । महासंघका सल्लाहकार छविलाल बिश्वकर्माले ब्यवसायीलाई परेको अप्ठ्याराका बिषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरेका थिए ।

अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औल्याए । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा बढेको समेत उनले बताए ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।