सेयर बजारमा लगातार चार दिन गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार चार दिन गिरावट आएको छ । यो साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको सेयर बजार आज बिहीबार पनि घटेको हो । बिहीबार नेप्से १७.०१ अंकले घटेर २७८७.१५ अंकमा झरेको हो ।

बिहीबार कारोबारमा आएका ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयरहरू ९३ हजार ९०७ पटक किनबेच हुँदा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ अंकमा झर्दा कारोबार रकम ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ६९.६२ अंकले बढेको छ । त्यस्तै व्यापार समूह १६.६३ अंकले र म्यूचुअल समूह ०.०१ बढेको छ भने अन्य उपसमूहहरु घटेका छन् ।

बिहीबारको कारोबारमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।
यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घटेको छ । त्यस्तै, कामना सेवा विकास बैंक डेभेन्चर ८.४० प्रतिशतले र सुपरखुदी हाइड्रोपावर ७.१७ प्रतिशतले घटेको हो ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ३० करोड ४२ लाख ५२ हजार रुपैयाँको कारोबार हुँदा सोलु हाइड्रोपावर २६ करोड ७ लाख ५२ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । आँखुखोला हाइड्रोपावरको २६ करोड ५ लाख ७९ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, होटल फरेष्ट इनको २२ करोड १५ लाख ५९ हजार रुपैयाँको कारोबार हुँदा नेश्नल हाइड्रोपावरको १८ करोड ६६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । बुधबार ४७ खर्ब ८२ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४७ खर्ब ५३ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा २९ अर्ब रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।