नारायणी डेभलपमेन्ट बैंकको साढे २२ हजार कित्ता शेयरको लिलामी खुल्यो

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साढे २२ हजार कित्ता शेयरको लिलामी खुलेको छ ।

बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता गरी कुल २२ हजार ५५७ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको हो।

राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बैंकले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद शेयरमा सो परिमाणमा शेयर अवितरित भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । बैंकले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको थियो ।

सो शेयर खरिदका लागि चैत ३ गतेदेखि १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

लिलामीमा आएको संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधारण शेयरका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

शेयर खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।