ज्योति लाइफको आईपीओ यस साता बाँडफाँड नहुने

0
Shares

ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) भरेर बसेका लगानीकर्ताको बहुप्रतिक्षित शेयर यो साता बाँडफाँड  नहुने भएको छ । इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओ अर्को साता मात्र बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस साता रुरु हाइड्रोले गुल्मीका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गर्नुपर्ने भएपछि ज्योति लाइफको शेयर बाँडफाँड चैत १३ गते शुक्रबार मात्र हुने भएको हो ।

रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि २१ गतेसम्म गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता प्राथमिक शेयर जारी गरेको थियो । सोभन्दा पछि (फागनु २१ देखि २६ गतेसम्म) शेयर जारी भएको कारण ज्योति लाइफको बाँडफाँड मिति भने धकेलिएको हो ।

नेपाल धितोपत्र बोर्डको पछिल्लो समय मेरो शेयर सफ्टवेयरमा पर्ने अधिक चाप नियन्त्रणका लागि भन्दै शेयर निष्काशन र बाँडफाँड शुक्रबार मात्र गर्न मातहातका निकायलाई निर्देशन दिएको अवस्था छ । यसले पनि ज्योति लाइफको शेयर बाँडफाँडका लागि आवेदकले अझै ९ दिन कुनुपर्ने भएको छ ।

ज्योति लाइफको आईपीओमा यसअघिको रेकर्ड ब्रेक हुँदै १८ लाख ४२ हजार ४९६ वटा आवेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाछ १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदक (३२.२४ प्रतिशत) ले शेयर पाउनेछन् भने ६७.७६ अर्थात १२ लाख ४८ हजार ४९६ जनाको हात खाली हुनेछ ।

सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताका लागि ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ता बराबरको आवेदन परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

उता रुरु हाइड्रोपावरले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएकोमध्ये पहिलो चरणमा गुल्मेलीका लािग ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको हो ।

स्थानीयलाई शेयर बाँडफाँड लगत्तै दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने बिक्री प्रबन्धले जनाएको जनाएको छ । कम्पनीले जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत शेयर स्थानीय बासिन्दाका लागि र १० प्रतिशत शेयर सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । कम्पनीले आईपीओले पाएको ग्रेड ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।