काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको विगत १० वर्षको आर्थिक श्वेतपत्रले विगत १० वर्षदेखि सरकारको बजेट घाटामा रहेको देखाएको छ ।
जानकारहरूका अनुसार लगातार बजेट घाटा हुनु विकासशील देशका लागि असामान्य नभएपनि यसको आकार बढ्दै जानु चिन्ताको विषय हो ।
आर्थिक वर्ष २०७१-७२ मा सरकारको राजस्व संकलन ४ खर्ब ५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । सो वर्ष सरकारको खर्च ५ खर्ब ३१ अर्ब ५७ करोड रुपैयाँ पुगेको थियो । यसले गर्दा सो वर्ष १ खर्ब २५ अर्ब ७ करोड रुपैयाँ बजेट घाटा देखिएको थियो ।
आर्थिक वर्ष २०७२-७३ मा राजस्व बढेर ४ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ पुगे पनि खर्चको वृद्धिदर उच्च रहेको थियो । उक्त वर्ष ६ खर्ब २ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष पनि बजेट १ खर्ब १८ अर्ब २४ करोड रुपैयाँ घाटामा रहेको थियो ।
जानकारहरूका अनुसार यस्तो घाटा सामान्य भए पनि खर्च संरचनामा सुधार नगरे दीर्घकालमा ऋणभार बढ्न सक्छ । खर्चकोप्राथमिकता स्पष्ट नहुँदा यस्तो अवस्था दोहोरिन पुगेको विज्ञहरूको भनाई छ ।
आर्थिक वर्ष २०७३-७४ मा राजस्व ६ खर्ब ९ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो भने खर्च ८ खर्ब ३७ अर्ब २५ करोड रुपैयाँ पुगेको थियो । सो वर्ष करिब २ खर्ब २८ अर्ब रुपैयाँ बजेट घाटा देखिएको थियो । त्यसपछि आर्थिक वर्ष २०७४-७५ मा घाटा अझ बढेर ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७५-७६ मा राजस्व संकलन ८ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ पुगेको थियो भने खर्च ११ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । उक्त आर्थिक वर्ष ३ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ बजेट घाटा भएको थियो ।
आर्थिक वर्ष २०७६-७७ मा राजस्व घटेर ७ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँमा झरेको थियो, जबकि खर्च १० खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको थियो । यसले करिब ३ खर्ब ६ अर्ब ५४ करोड रुपैयाँ बजेट घाटा निम्त्याएको थियो ।
आर्थिक वर्ष २०७७-७८ मा राजस्व ९ खर्ब ३५ अर्ब ८९ करोड रुपैयाँ पुगेको थियो भने खर्च ११ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ पुगेको थियो । यसले करिब २ खर्ब ६० अर्ब रुपैयाँ घाटा देखाएको थियो । २०७८-७९ मा पनि आम्दानी र खर्चको अन्तर जारी रहँदा राजस्व १० खर्ब ६६ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो भने खर्च १३ खर्ब १० अर्ब रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७९-८० मा भने राजस्व घटेर ९ खर्ब ५७ अर्ब ३५ करोड रुपैयाँमा सीमित भयो । तर खर्च १४ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ बजेट घाटा व्यहोर्नु परेको थियो । जुन पछिल्ला वर्षहरूको तुलनामा उच्च घाटा थियो । विज्ञहरूका अनुसार यस्तो ठूलो घाटाले सार्वजनिक ऋण तीव्र रूपमा बढाउन सक्छ ।
आर्थिक वर्ष २०८०-८१ मा राजस्व १० खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो भने खर्च १३ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो । यस वर्ष पनि ३ खर्ब ३४ अर्ब रुपैयाँभन्दा बढी बजेट घाटा भएको थियो । त्यसैगरी गत आर्थिक वर्ष २०८१-८२ मा राजस्व ११ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो भने खर्च १५ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष करिब ३ खर्ब ३३ अर्ब रुपैयाँ बजेट घाटा देखिएको थियो ।
चालु आर्थिक वर्ष २०८२-८३ को चैतसम्ममा राजस्व ७ खर्ब ८० अर्ब १२ करोड रुपैयाँ संकलन भएको छ भने खर्च ९ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस अनुसार हालसम्म करिब १ खर्ब ८७ अर्ब रुपैयाँ बजेट घाटा भएको छ ।












प्रतिक्रिया