लगानी बोर्डद्धारा औद्योगिक परियोजनाका लागि ६४ अर्बको लगानी स्वीकृत

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार भएको लगानी बोर्डको ३९ औँ बैठकले चीन–नेपाल मैत्री औद्योगिक उद्यान, दमक परियोजनाका लागि ६४ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

उक्त परियोजनामा ल्हासा इकनमिक एण्ड टेक्नलजी डेभलपमेन्ट जोन जिङपिङ ज्वाइन्ट क्रिएशन कन्स्ट्रक्सन प्रजेक्ट डेभलपमेन्ट कम्पनीले लगानी गर्ने भएको छ । बैठकले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन दमक क्लिन इण्डष्ट्रिज पार्कलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले विराटनगरमा निर्माण तथा सञ्चालन गर्न प्रस्तावित मल्टिमडेल लजिस्टिक्स् पार्क परियोजना स्वीकृत गर्नुका साथै नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी सीजी लजिस्टिक्स् प्रालिलाई अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । उक्त परियोजना विकासका लागि सीजी लजिस्टिक्स् प्रालि र यूएईको साराफ ग्रुपबीच लगानी सम्मेलनका क्रममा समझदारी भएको थियो ।

बोर्डका अनुसार जनकपुरमा निर्माण तथा सञ्चालन गर्न प्रस्तावित रेल्वे लिङ्कड प्राइभेट फ्रेट टर्मिनल परियोजना स्वीकृत गर्ने नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी ग्रीन इन्फ्रास्ट्रकचर प्रालिलाई अध्ययन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले यसै वर्ष सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत परियोजनाहरुमध्ये ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजनाका लागि प्राप्त आशयपत्रहरुको मूल्याङ्कनपश्चात सूचीकृत भएका दुई वटा प्रस्तावक एचआईडीसीएलसँग संयुक्त साझेदारी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड र नेब्रास पावर कतार होडिङ्ग एलएलसी सहितको संयुक्त साझेदारी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको छ ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी बोर्डले सहजीकरण गरिरहेका परियोजनाहरुको प्रगतिबारे बैठकलाई जानकारी गराएका थिए।