लघुवित्त सङ्घको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा पुनः पोखरेल

0
Shares

लघुवित्त सङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सङ्घका संस्थापक अध्यक्ष जगत पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

काठमाडौंमा शुक्रबार सम्पन्न सङ्घको प्रथम साधारण सभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई नै निर्वाचित गरेको छ । यस्तै सदस्यमा विमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित भएका छन् ।

स्थापनाका बेला नौ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी तीन जनापछि मनोनित गर्ने निर्णय पनि साधारण सभाले गरेको छ । सङ्घले प्रथम साधारण सभा तथा वार्षिकोत्सवका अवसरमा लघुवित्त क्षेत्रमा योगदान गरेका सातलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पु¥याएको भन्दै संस्थाले पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको हो । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक भण्डारीलाई सङ्घको स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा अर्थ सचिव शिशिर ढुङ्गानाले सम्मान गरे ।

लघुवित्त वित्तिय संस्थाको उत्कृष्ट व्यवस्थापन गरेको भन्दै निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेललाई उत्कृष्ट सीइओ सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी लघुवित्त क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट योगदान गर्नु भएकाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक भरतसिंह थापालाई पनि सम्मान गरिएको छ ।

सङ्घले लघुवित्त वित्तीय संस्थामा सेवाग्राहीको रुपमा आबद्ध भइ आफ्नो आर्थिक तथा सामाजिक उत्थान गर्नुभएका तीन महिलालाई प्रोत्साहन स्वरुप सम्मान गरेको अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।

उनले लघुवित्त क्षेत्रको संवद्र्धन गर्न र बिक्रेता न्यूनीकरण गर्न योगदान गरेका व्यक्तिलाई सङ्घले हरेक वर्ष प्रोत्साहन गर्ने योजना बनाएको पनि बताए । देशभरी रहेका लघुवित्त वित्तीय संस्थालाई सङ्गठित गरी यस क्षेत्रका समस्याको समाधान गर्दै सेवालाई प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले गत वर्ष सङ्घको स्थापना भएको हो ।

अध्यक्ष पोखरेलले लघुवित्तका विकृति विसङ्गति रोक्न, नीतिगत विषयमा बल पु¥याउन र लगानीकर्ताको लगानी सुरक्षित गराउन सङ्घको स्थापना गरिएको जानकारी दिए। सरकार र राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्न, व्यवस्थापन र कर्मचारीको मनोबल बढाउने काममा लाग्न पनि सस्था आवश्यक रहेको उनको भनाइ थियो ।

लघुवित्त क्षेत्रलाई प्रभावकारी बनाउन वित्तीय साक्षरता अत्यावश्यक रहेकाले घरघरमा पुगेर वित्तीय साक्षरता दिनुपर्नेमा उपाध्यक्ष चौधरीले जोड दिए। लघुवित्तले गरेको राम्रो काममा पनि राज्यलगायत सरोकारवालाको हेर्ने नजर सन्तोषजनक नरहेको महासचिव विश्वकर्माको अनुभव छ ।

माइक्रोफाइनान्स मर्ज हुने क्रम चलिरहेकाले अहिले ७८ वटा माइक्रोफाइनान्स रहेको र ४० वटा सङ्घमा आबद्ध रहेको सचिव अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार  १९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।