५ पटकभन्दा बढी ट्राफिक कारबाहीमा पर्ने चालकको लाइसेन्स निलम्बन हुने


काठमाडौं । एउटै कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बन हुने भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले पटक–पटक कारबाहीमा पर्ने चालकको लाइसेन्स नै निलम्बन गरिने बताएका हुन् ।

“पटक–पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ । हामीले यो प्रक्रिया अघि बढाइसकेका छौँ,” एसएसपी अधिकारीले भने ।

सुरुआती चरणमा उनीहरूको लाइसेन्स ६ महिनाका निम्ति निलम्बन गर्न सिफारिस गरिएको अधिकारीले बताए ।
हालसम्म ३१ सवारीचालकको लाइसेन्स निलम्बनका निम्ति यातायात व्यवस्था विभागमा पठाइएको छ ।

चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र चार हजार ६३१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना गम्भीर घाइते भएका छन् । साथै चार हजार ९२७ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन मिच्ने, रातोबत्ती उल्लङ्घन गर्नेलगायत कारण दुर्घटनाको जोखिम बढिरहेको जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।