रिलायबल क्यापिटलको रिलायबल समृद्धि योजना २ मा आजदेखि आवेदन दिन सकिने


काठमाडौँ । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाईमा आजदेखि आवेदन दिन सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिने कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डको इकाईमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा जेठ १२ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटि ४ प्लस रेटिङ्ग प्रदान गरेको छ।

रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार  ०८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।