काठमाडौँ । सेयर धितो कर्जामा लगानीकर्ताको आकर्षण बढेको छ ।
केन्द्रीय बैंकले शेयर धितो कर्जामा लगाएको व्यक्तिगत सीमा हटाएपछि र मौद्रिक नीतिमा केही लचकता अपनाएपछि कर्जा लिने क्रमले तीव्रता पाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलना चालु आवको नौ महिनामा सेयर धितो कर्जा १३.४ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कुल मार्जिन प्रकृतिको कर्जा १ खर्ब ५९ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। तथ्याङ्क अनुसार गत असार मसान्त (जुलाई २०२५) मा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा मात्रै बैंकहरूले १८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ थप शेयर धितो कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकका अनुसार १ करोड रुपैयाँभन्दा माथिका ठुला कर्जाको हिस्सा सबैभन्दा ठुलो देखिएको छ भने प्रतिशतका आधारमा भने साना कर्जाको वृद्धिदर बढी छ।
१ सन् २०२६ को अप्रिलसम्ममा यस शीर्षकमा १ खर्ब ९ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असारमा यो रकम ९८ अर्ब ९२ करोड ७९ लाख थियो। ९ महिनाको अवधिमा यसमा ११ अर्ब २ करोड ६१ लाख रुपैयाँ (११.१ प्रतिशत) ले वृद्धि भएको छ। कुल शेयर धितो कर्जामा यो वर्गको हिस्सा झण्डै ६९ प्रतिशत रहेको छ।
यता, २५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जाको वृद्धिदर सबैभन्दा उच्च छ । गत असारमा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेको यस्तो कर्जा चैत मसान्तसम्म आइपुग्दा १२ अर्ब ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ। जुन ४७.२ प्रतिशतको वृद्धि हो ।
९ महिनामा साना लगानीकर्ताले ३ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ थप कर्जा लिएका छन्। यसले बजारमा साना तथा नयाँ लगानीकर्ता प्रवेश गरेको प्रष्ट्याएको छ ।
यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १४ प्रतिशतले बढेर १८ अर्ब २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९।५ प्रतिशतले वृद्धि भई १९ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
हाल बैंकहरूले सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन्।












प्रतिक्रिया