समीट लघुवित्तले ६ लाख कित्ता एफपिओ निष्काशन गर्ने, शेयरधनीलाई छैन लाभांश

0
Shares

समीट लघुवित्त (SMFDB) ले ६ लाख कित्ता थप नयाँ साधारण शेयर (एफपिओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्त सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले सजिलो लघुवित्तसँगको मर्जर पश्चात संस्थापक शेयर र साधारण शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग रहेको बराबरको ६ लाख कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव सहित चैत्र २९ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

तनहुँको आबुंखैरेनी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा बिहान १० बजे बोलाइएको सभामा साधारण सभाले एफपीओ जारी गर्ने, अन्य लघुवित्तसँग मर्जर प्राप्तीका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको हो ।

साधारण सभाबाट सो प्रस्ताव पारित भएमा एफपिओ निष्काशन प्रक्रिया अगाडि बढ्नेछ । त्यसपश्चात नियामक निकायबाट एफपीओ जारी गर्ने अनुमतिपछि मात्र शेयर बिक्रीमा आउनेछ ।

त्यस्तै संस्थापक समुहको ४ जना र सर्वसाधारण समुहको २ जना गरि ६ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको सेवा सुविधा परिमार्जन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने, मर्जर सम्बन्धि खर्च अनुमोदन गर्ने, लगायतका प्रस्ताव पेश हुने छन् ।

गत आव २०७६/७७ बाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको यस लघुवित्तले साधारण सभा प्रयोजनको लागि भने चैत्र १७ देखि मंगलबारदेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार चैत्र १६ गते सोमबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  १६ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।