भारतले रोक्यो चिनी निर्यात, सेतो तथा कच्चा चिनीको मूल्य बढ्ने


काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने गरी चिनी आयातमा रोक लगाएको हो । भारत सरकारले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।

देशमा चिनीको उपलब्धता सुनिश्चित गर्न तथा मूल्य नियन्त्रणमा राख्न सरकारले यो कदम चालेको हो । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार यो प्रतिबन्ध कच्चा, सेतो तथा प्रशोधित चिनीमा लागु हुनेछ ।

भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश हो । भारतको यो निर्णयले विश्व बजारमा सेतो तथा कच्चा चिनीको मूल्य बढ्ने आंकलन गरिएको छ । ब्राजिल र थाइल्यान्ड जस्ता देशले चिनी उत्पादन गर्ने भएतापनि ती देशको उत्पादनले मात्र पर्याप्त हुँदैन ।

भारतले युरोपेली संघ र अमेरिकामा निश्चित कोटा अन्तर्गतको निर्यातमा भने लागु नहुने बताइएको छ । उता, केही निश्चित सर्तहरू पूरा गरेका देशहरूलाई भने भारतले निर्यात अनुमति दिने छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।