कर्णालीका करिब १७ लाख नागरिकको विपद् बिमा


कर्णाली । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न यहाँका करिब १७ लाख नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच १ वर्षका लागि बिमा सम्झौता गरिएको हो । सम्झौतामा मुख्यमन्त्री कार्यालयका तर्फबाट उपसचिव उत्तम गौतम र राष्ट्रिय बिमा कम्पनीका तर्फबाट सह–व्यवस्थापक डम्बरदेव अधिकारीले हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेत र राष्ट्रिय बिमा कम्पनी लिमिटेड, काठमाडौँबीच यसअघि २०७६ असोज १ गते भएको सम्झौताकै आधारमा नयाँ समझदारी गरिएको हो । प्राकृतिक विपद्बाट हुने क्षतिको बिमा सम्झौता ३० वैशाख २०८३ देखि लागू हुनेगरी एक वर्ष अवधिका राखेर सम्झौता नवीकरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका उपसचिव गौतमले जानकारी दिए।

उनका अनुसार कार्यविधिबमोजिम सञ्चालन हुने यो बिमालेखमा कर्णाली प्रदेशका १६ लाख ८८ हजार ४१२ जना नागरिक समेटिएका छन् । प्रतिव्यक्ति बिमाङ्क २ लाख कायम गरिएको छ । सरकारले प्रतिव्यक्ति वार्षिक ९ रुपैयाँ ३३ पैसाका दरले बिमा शुल्क तिर्नेछ ।

यसअनुसार कुल बिमा शुल्क १ करोड ५७ लाख ५२ हजार ९०४ रुपैयाँ रहेको र उक्त रकम मुख्यमन्त्री कार्यालयले भुक्तानी गर्ने उनले जनाए।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।