फिस्टेल डेरीको ‘नोभा आइसक्रिम’ खान अयोग्य


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले फिस्टेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव स्वास्थ्यका लागि हानिकारक रहेको निष्कर्ष निकाल्दै देशभरबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।

विभागले बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाएको हो ।

प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ ।

यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिइएको छ ।

उत्पादन मिति १९ साउन २०८२ उल्लेख भई १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।