प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग


काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे । सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरे ।

सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउनुहुँदै वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गरे ।

सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरे । सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिए। सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गरे ।

सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गरे । सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गरे । सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गरे ।

सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे । सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउनुहुँदै ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।