वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे ।

सांसद गणेशबहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आवको बजेट तय हुनुपर्ने बताए। सांसद धु्रवराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राखे । उनले मुन्धुम पदमार्गलाई राष्ट्रिय गौरवको मार्गका रूपमा राखेर बजेट विनियोजन गर्न माग गरे । सांसद भरत गिरीले बजेटलाई शब्दमा नभई कर्ममा परिणत गर्ने दस्तावेजका रूपमा परिणत गर्न माग गरे ।

सांसद विपीनकुमार आचार्यले दाङको घोराही उपमहानगरपालिकाको एउटा गाउँको उदाहरण दिँदै आगामी आवको बजेटमा देशभरका आफ्नै नागरिकले खानेपानीका लागि गरिरहेको कठिन सङ्घर्षको अन्त्य होओस् भन्ने माग गरे । उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधासम्पन्न बनाउन आग्रह गर्दै देशभरका स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद आचार्यले दाङको टरिगाउँ विमानस्थललाई विस्तारको विषयलाई बजेटमा प्राथमिकता राख्न आग्रह गरे ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।