काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । यो अवधिमा नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जुन गत आर्थिक वर्ष २०८१|८२ को सोहि अवधिको तुलनामा १४.७५ प्रतिशतले बढि हो ।
भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि आएको छ । तर निर्यातको तुलनामा आयातको हिस्सा ठुलो हुँदा व्यापार घाटा भने थप चुलिएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तुलना अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।
त्यस्तै चालु आवमा निर्यातमा पनि १४.२५ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आर्थिक वर्षमा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १४.९२ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलना अवधिमा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।










प्रतिक्रिया