प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान


काठमाडौँ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय घटेर एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति आय घटेर एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान उल्लेख गरेका हुन् ।

“चालु आर्थिक वर्ष अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५।७ प्रतिशतले अवमूल्यन हुने अनुमानको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घटेर एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान छ,” भनिएको छ, “गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१६ अमेरिकी डलर रहेको थियो ।”

गत आवको तुलनामा चालु आवमा प्रतिव्यक्ति आय तीन डलरले घटेको छ । आर्थिक क्रियाकलापमा आएको शिथिलता, न्यून आर्थिक वृद्धि लगायतका कारणले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर न्यून रहेको जनाइएको छ ।

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) दुई लाख ६ हजार ६२५ रुपैयाँ थियो । चालु आर्थिक वर्ष ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार ९४६ पुग्ने अनुमान रहने उल्लेख छ ।

पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।