१ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात


वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड रुपैयाँ अर्थात १६.३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको बताए। चालु आवको १० महिनामा १ खर्ब ५७ करोड रुपैयाँ मूल्य पर्ने ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड रुपैयाँ मूल्य पर्ने ९ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।

३५ अर्ब ७९ करोड रुपैयाँ मूल्य पर्ने ३ लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने ३१ अर्ब ७१ करोड रुपैयाँ मूल्य पर्ने ३ लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड रुपैयाँ मूल्य पर्ने २४ करोड २७ लाख ३ हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड रुपैयाँ मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।