आर्थिक वर्ष सकिन ४५ दिन बाँकी, बजेट खर्च ६४ प्रतिशतमा सिमित


काठमाडौँ। चालु आर्थिक वर्ष २०८२र८३ सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र भएको छ । सरकारले १५ जेठसम्म लक्ष्यको ६३।७६ प्रतिशत मात्र बजेट खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल बजेट खर्च १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ बराबर भएको छ ।

जुन लक्ष्यको ६३.७६ प्रतिशत हो । यस अवधिमा चालु खर्च लक्ष्यको ७२.८५ प्रतिशत बराबर भएको छ । जुन ८ खर्ब ६० अर्ब ३१ करोड बराबर भएको छ । चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको हो । पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत मात्र भएको छ । पूँजीगत खर्च कुल ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा खर्च भने १ खर्ब २३ अर्ब रुपैयाँ बराबर मात्र भएको छ ।

वित्तीय व्यवस्थातर्फको खर्च ७१.६४ प्रतिशत भएको छ । यस अवधिमा २ खर्ब ६८ अर्ब ८४ करोड वित्तीय व्यवस्थामा खर्च भएको तथ्यांक छ ।

विनियोजन भने ३ खर्ब ७५ करोड भएको थियो । सरकारले आज आगामी आवको बजेट सार्वजनिक गर्दैछ । सार्वजनिक खर्चका संरचनात्मक समस्या जहाँको तही रहँदा लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुसार खर्च नहुने प्रवृत्ति हरेक वर्ष दोहोरिएको छ । आगामी वर्ष यो समस्या हटाउने प्रतिवद्धतासहित नयाँ बजेट आउने बताइएको छ ।

यता, राजस्वतर्फ वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत मात्र उपलब्धि हासिल भएको छ । हालसम्म १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।