पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याइने


काठमाडौँ । सरकारले निजी क्षेत्रको साझेदारीमा पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पोखरा र गौतमबुद्ध विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थापन अघि बढाइने बताए ।

अर्थमन्त्री डा वाग्लेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि एक अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यसैगरी, निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको ढाँचा आगामी ६ महिनाभित्र तय गरिने , चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडानको व्यवस्था गरिने र सुर्खेत, मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिने मन्त्री वाग्लेले बताए ।

सरकारले ऐतिहासिकस्थलको विकासअन्तर्गत तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्राम जस्ता ऐतिहासिक स्थलको बृहत्तर पूर्वाधार विकास गरिने बताएको छ । बृहत्तर लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा ब्रान्डिङ गरिने, रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नति गरिने भएको बजेट बक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।