जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ले नियामक निकाय धितोपत्र बोर्डसँग १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति माग गरेको छ ।
बोर्डका अनुसार कम्पनीले चैत १२ गते बोर्डमा निवेदन दिएको हो ।
चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति मागेको हो ।
कम्पनीको यसअघि नै हकप्रद जारी गर्न निवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै सेबोनले हकप्रद पाइपलाइनबाट हटाएको थियो । कम्पनी संस्थापक शेयरधनीहरुबाट हकप्रदको कल इन एभडान्स्ड रकम उपलब्ध नहुँदा कम्पनीले पुनः हकप्रद शेयर जारी गर्ने अनुमति मागेको हो ।
हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । हाल ११ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।
कम्पनीमा सरकारको ८० प्रतिशत र अन्यको २० प्रतिशत लगानी छ। जलविद्युतको क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले कम्पनीको स्थापना गरेको हो ।
एचआइडीसीएलले हकप्रद शेयर जारी गर्न क्रेडिट रेटिङ कम्पनी केयर नेपालबाट रेटिङ सम्पन्न गरिसकेको छ । केयर नेपालले एचआइडीसीएलको हकप्रदलाई ‘केयर एनपी ए माइनस’ रेटिङ दिएको छ । केयर एनपी ए माइनस रेटिङ सुरक्षित भएको केयर नेपालले जनाएको छ । रेटिङ सम्पन्न भएसँगै कम्पनीलाई हकप्रद शेयर जारी गर्न सजिलो भएको छ ।
एचआईडिसीएलले २०७५ सालमा नै शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै सरकारबाट कल इन एडभान्ड समेत लिइसकेको छ । कम्पनीमा हकप्रद वापतको ५ अर्ब रुपैयाँ रकम सरकारले निकासा गरेपनि कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले हकप्रद शेयरको रकम नहाल्दा हकप्रद निष्काशन अन्यौलमा परेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया