चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी मेडिकल कलेज अब्बल सावित


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ । चिकित्सक ‘लाइसेन्स’ परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ६६.९५ कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी ७६.७९ प्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।

काउन्सिलले यही जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा सहभागी २ हजार २६३ परीक्षार्थीमध्ये १ हजार ५१५ विद्यार्थी उत्तीर्ण भएका छन् । स्वदेशका मेडिकल कलेजबाट एमबिबिएसतर्फ सहभागी १ हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६.७९ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको र इजिप्ट, युक्रेनजस्ता देशमा अध्ययन गरी लाइसेन्स परीक्षामा परीक्षार्थीको नतिजा निराशाजनक रहेको छ ।

छिमेकी मित्रराष्ट्र भारत र चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीकोसमेत नतिजा सन्तोसजनक नरहेको तथ्याङ्ले पुष्टि गर्दछ । भारतको मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत ४२.३१ प्रतिशत र चीनमा अध्ययन गरेकाको १५.०४ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै, बङ्गलादेशको मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीमध्ये ४१.१४ प्रतिशत, फिलिपिन्समा अध्ययन गरेकाको २८.५७ प्रतिशत नेपाली विद्यार्थी उत्तीर्ण भएका छन् भने इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निरासाजनक देखिएको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।