नेपाली चिया निर्यातमा पुनः भारतीय अवरोध


काठमाडौँ । नेपालबाट भारततर्फ चिया निर्यात पुनः अवरोध भएको छ । यसअघि बैशाख १८ गतेदेखि भारतले गुणस्तर नियन्त्रणको बहानामा चिया निर्यातमा कडाई गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । त्यसपछि जेठ ६ गतेदेखि खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध सुरु गरेको हो ।

भारतीय चिया बोर्ड (टी बोर्ड अफ इन्डिया) ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ ।

यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो । सो व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा रोकिएको थियो ।

पहिले प्रत्येक ट्रकको परीक्षण गर्नुपर्ने भनिएको थियो तर पछि विरोध भएपछि ‘¥यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसायी अन्योलमा परेको सिटीसि चिया उत्पादक संघका अध्यक्ष शिवकुमार गुप्ताले बताए ।

‘गोदाममै गएर नमुना संकलन गर्न थालेपछि आयातकर्ताहरु नै चिया किन्न डराएका छन्,’ उनले भने, ‘नेपाली चिया भारतीय व्यापारीले नकिनून् भन्ने बोर्डको नियत देखिएको छ ।’

नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाउनुपर्ने उक्त रिपोर्ट नआएसम्म बिक्री रोकेपछि व्यवसायीले नयाँ फाराम नै पेस गर्न छाडेको उनको भनाई छ । परीक्षणको नतिजा मापदण्डअनुसार नआए आफ्नो सामान नष्ट गर्नुपर्ने डरले उनीहरूले आयातको लागि फाराम भर्न छाडेको उनले बताए ।

उनका अनुसार, कोलकता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन । करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको समेत उनले जानकारी दिए ।

भारतले पटक–पटक सिर्जना गर्ने अवरोधले नेपाली चियाको अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढेको उनको भनाई छ । त्यसैले अवरोध हटाउन निजी क्षेत्रले भारतस्थित नेपाली दूतावास मार्फत कूटनीतिक पहलका लागि अनुरोध गरिसकेको उनले जानकारी दिए ।

भारतीय अवरोधको असर मुख्यतया अर्थोडक्स चिया निर्यातमा देखिएको चिया उद्योगी शुक्र दाहाल बताउँछन् ।
‘अहिलेको सिजनमा सीटीसी चियाको उत्पादन निकै घटिसकेको छ, चिया बगानमा हरियो पत्तीको उपलब्धता कम भएकाले सीटीसी चियाको उत्पादन करिब ७० प्रतिशतले घटेको छ,’ उनले भने, ‘अर्थोडक्स चिया उत्पादनमा भने असर परेको छैन, निर्यात भइरहेको अधिकांश चिया अर्थोडक्स नै हो ।’

उनका अनुसार, सिजनको सुरुवाती चरणको चियाले राम्रो मूल्य पाउने भए पनि गोदाममा थन्किँदा त्यसको गुणस्तर ह्रास हुने र बजार मूल्यसमेत घट्ने गर्छ । सुरुमा निर्यात गर्दा मूल्य राम्रो आउथ्यो तर यो अवरोधले चिया निर्यातमा ठूलो असर परेको उनले जानकारी दिए ।

यसअघि नाकामा नै लगाएको मियम हटाएको भनिए पनि विभिन्न बाहानामा अवरोध सिर्जना गरेर नेपाली चियालाई पूर्णरूपमा बन्देज गर्ने र ब्रेक गर्ने भारतीय चिया बोर्डको रणनीति रहेको उद्योगी दाहालको दाबी छ ।

विगतमा दैनिक सरदर एक–दुई ट्रक चिया निकासी हुने मेची भन्सार नाकाबाट करिब २ सातादेखि नेपाली चिया निर्यातका लागि भन्सार कार्यालयमा फर्म नै नआएको भन्सारका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले बताए ।

‘बैशाख १८ गतेदेखि निर्यात ठप्प भएकोमा जेठ ६ गतेदेखि अवरोध खुल्यो भन्ने कुरा त आयो, तर चिया निर्यात खासै भएको छैन,’ उनले भने, ‘करिब दुई साताअघि परीक्षणका लागि पठाइएको दुई गाडी चियाको अवस्थाबारे पनि अझै केही सूचना आएको छैन ।’

अझै करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको उनले जानकारी दिए ।

नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुने सरकारी तथ्यांक छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । नेपालमा अर्थोडक्स, ग्रीनटी र सिटिसी चिया उत्पादन हुन्छ ।

विशेषरी पहाडी क्षेत्र अर्थात् तापक्रम कम भएको ठाउँमा अर्थोडक्स र ग्रीनटी उत्पादन हुन्छ भने तापक्रम बढी हुने जिल्लामा सिटिसी चिया उत्पादन हुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।