प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी


काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।

दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (सासेप) अन्तर्गत आज आयोजित क्षेत्रीय तालिम कार्यक्रममा उनले वातावरणीय समस्याका लागि सामूहिक प्रयास, नवीन समाधान र क्षेत्रीय एकता अपरिहार्य रहेको बताइन्।

हिमालदेखि समुद्रसम्म फैलिएको दक्षिण एसियाली क्षेत्र जलवायु परिवर्तन, वायु प्रदूषण र प्लास्टिक प्रदूषणको गम्भीर असरमा परेको उल्लेख गर्दै मन्त्री चौधरीले हिमनदी पग्लने, समुद्री सतह बढ्ने तथा नदीको पानी र मानव रगतमा समेत सूक्ष्म प्लास्टिक (माइक्रोप्लास्टिक) भेटिन थालेकाले चिन्ताजनक अवस्था रहेको बताइन्। यस्ता समस्याले मानव स्वास्थ्यसँगै जैविक विविधतामा नकारात्मक प्रभाव पारिरहेको उनको भनाइ थियो ।

मन्त्री चौधरीले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेकाले वातावरण संरक्षण ऐन तथा नियमावलीमार्फत प्रदूषकले क्षतिपूर्ति तिर्ने सिद्धान्त, दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरणका उपायहरू कार्यान्वयन भइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।