अर्थतन्त्रमा टेवा पुग्ने गरी सुनचाँदी क्षेत्रको नीतिगत ब्यवस्था गर्न तयारः उपाध्यक्ष कँडेल


राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. पुष्पराज कँडलले सुनचाँदी व्यवसायले पनि अर्थतन्त्रमा मद्दत गर्ने गरी नीतिगत व्यवस्था गर्न तयार भएको बताएका छन् । कँडेलले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थामा समेट्नु पर्ने एजेण्डाहरु समेत माग गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिसंग भेट्दै उपाध्यक्ष डा. कँडेलले सुनचाँदी क्षेत्रको वृहत्तर विकास र विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने गरी नीतिगत ब्यवस्था गर्न आफू तयार रहेको बताएका हुन ।

बिश्व बजारमा सुनचाँदीको क्षेत्रमा उल्लेख्य रुपमा विकास र विस्तार भैसकेको बताउदै उनले भने,“नेपालमा पनि छिमेकी मुलुकहरुमा अवलम्वन गरिएका ब्यवस्थाहरुको अध्ययन गरी आवश्यकता अनुसार समेट्दै जान सकिन्छ ।”

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट नीतिको अभावमा सुनचाँदी ब्यवसायमा धेरै समस्या आएको बताए । सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट नीतिगत ब्यवस्था गर्दै कच्चा पदार्थको पर्याप्त आपूर्ति एवं कालिगढको सुनिश्चितता जस्ता कुराहरुमा ध्यान दिए यो क्षेत्रवाट राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने उनको भनाई छ ।

सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत ब्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं खानी उत्खनन जस्ता महत्वपूर्ण बिषयहरुलाई मुलुकको आवधिक योजनामा नै समावेश गरीने आश्वसन पाएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।