‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित


भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल ३ सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले मिनीटिलर प्राप्त भएपछि खेत जोत्न र अन्य कृषि कार्य गर्न सहज भएको बताएन्। गाउँपालिकाले प्रोत्साहनस्वरुप हातेट्याक्टर दिएपछि न्यून आर्थिक अवस्था भएका किसानलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।

सुनारले भनीन्,“पहिले धेरै मिहिनत र समय लाग्थ्यो । हाल प्रविधिको प्रयोगले काम छिटो र सजिलो भएको छ । गाउँपालिकाले हातेट्याक्टर दिएपछि खेतीपातीको काम गर्न सहज छ ।”

गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी रहेको पौवादुङमा–६ का अर्का किसान जीवन सुब्बाले बताए“गाउँपालिकाले किसानलाई लक्षित गरेर सञ्चालन गरेको यो कार्यक्रम प्रभावकारी छ”, उनले भने, “किसानको मागका आधारमा कृषियन्त्र दिएसँगै हामी उत्साहित भएका छौँ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले कृषिमा संलग्न किसानलाई प्रविधिमैत्री बनाउन ‘एक घर, एक मिनीटिलर’ अवधारणाअनुसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “दुई चरणमा गरी ३ सय ४० वटा मिनीटिलर वितरण गरेका छौँ । यसले परम्परागत खेती प्रणालीलाई आधुनिकतर्फ लैजान सहयोग गर्नेछ”, उनले बताए।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।