शेयर बजारमा दोहोरो अंकको सुधार, आठ कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

साताको अन्तिम शेयर कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेप्से १२.८८ अंकले बढेर २६३१.८९ अंकमा बन्द भएको छ । बजारमा निरन्तर सुधार कायम हुँदा आज ८ कम्पनीको शेयरमूल्य उच्च बढेको छ ।

शेयर बजारमा बिहीबार निरन्त तेस्रो दिन सुधार आएको हो र पछिल्लो तीन दिनमा नेप्से ८८ अंकले बढेको छ भने शेयर बजार सूचकको आधारमा तेस्रो ठूलो उचाइमा समेत पुगेको छ । यसअघि गत फागुन ६ गते २६३६ र ९ गते सबैभन्दा उच्च बिन्दु २६४० बिन्दुमा रेकर्ड कायम भएको थियो ।

आजको बजारमा २१८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटकको कारोबारबाट ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से सूचकसँगै कारोबारमा पनि निरन्तर वृद्धि देखिएको छ । बुधबार ६ अर्ब १६ करोड ६९ लाख, मंगलबार ६ अर्ब १८ करोड ५६ लाख, सोमबार ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो । आइतबार फागु पूर्णिमाको विदाको काराण शेयर बजार बन्द रह्यो ।

यसदिन कारोबारमा आएका १३ समुहका सूचकमध्ये होटल र टुरिजममा सबैभन्दा धेरै २.११ प्रतिशतको गिरावट आएको छ भने लगानी सूचक पनि १ प्रतिशत धेरैले घट्यो । जीवन बीमा र म्युचुअल फण्ड पनि ऋणात्मक रहेको बजारमा अन्य ९ सूचक सकारात्मक रह्यो । ब्यापारमा सबैभन्दा बढी ८.६३ प्रतिशतको बढोत्तरी आउँदा अन्य ३.२६, विकास बैंक २.०३ र वित्त १.९६ प्रतिशतले बढेका छन् । जलविद्युत, बैंकिङ, उत्पादनमुलक, निर्जीवन बीमा र लघुवित्तको सूचक समान्य सकारात्मक रहेको छ ।

  • अपर तामाकोशीको उच्च कारोबार

बिहीबारको बजारमा अपर तामाकोशीको शेयरमूल्य २ प्रतिशत घटेरसर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ लाख ३४ हजार ८७० कित्ता शेयर २९ करोड ५६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।

एचआईडिसीएलको २४ करोड २ लाख तथा सबैभन्दा धेरै कित्ता (७ लाख ७ हजार ४२७) कारोबार भएको अपि पावरको २३ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेपाल रि इन्स्योरेन्सको २१ करोड ७० लाखको कारोबार भएको बजारमा नेपाल टेलिकम, रसुवागढी हाइड्रोपावर, एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक र कुमारी बैंकको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको कुमारी बैंकको १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।

  • आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

शेयर बजारको वृद्धि टिक्दा बिहीबार शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीको संख्या बढेर ८ पुगेको छ ।

यसदिन रसुवागढी हाइड्रोपावर, युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स श्री इन्भेष्ट एण्ड फाइनान्स र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै रसुवागढी हाइड्रोपावर र महिला लघुवित्तको मूल्य पनि उच्च बढेको छ ।

  • एचआईडिसीएलको लगानीकर्ताले धेरै गुमाए

एचआईडिसीएले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएपछि बढ्न थालेको कम्पनीको शेयरमूल्य बिहीबार सबैभन्दा धेरै घटेको छ ।

कारोबारीहरुले शेयरको मूल्य एउटा बिन्दुमा पुगेपछि ठूलो मात्रामा शेयर बिक्री गरी बाहिरिने क्रम बढ्दा मूल्य एकेदिन ह्वात्तै घटेको हो । कम्पनीले हकप्रदको अनुमति मात्र मागेकाले शेयर जारी हुन समय लाग्ने भएकाले पनि हकप्रदमा उचालिएको शेयर नाफा बुकिङ्गका कारण घटेको हो । कम्पनीको शेयरमूल्य ५.५३ प्रतिशत अर्थात २६ ले घटेर ४४४ रुपैयाँमा झरेको छ ।

यस्तै सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, समीट माइक्रोफाइनान्सको३ प्रतिशत धेरैले घटेको छ । यसैगरी जनउत्थान सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त, युनाइटेड इदिमर्दी, एनएमबि माइक्रोफाइनान्स, सिभिल लघुवित्त र मिथिला लघुवित्तको पसिन साढे २ प्रतिशतले मूल्य घटेको छ ।

नेप्सेमा आएको बढोत्तरीसँगै बुधबारको तुलनामा लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण बिहीबार १७ अर्ब ७८ करोड रुपैयाँले बढेर ३६ खर्ब ३५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ चैत्र २०७७, बिहिबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।