काठमाडौँ । म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, जेडब्लु म्यारियट काठमाडौं भ्यालीका लागि होटल व्यवस्थापन सम्झौता हस्ताक्षर कार्यक्रमको एक दिनअघि, ७ जुनमा नेपाल आइपुगेका थिए।
नेपाल आगमनका क्रममा उनलाई नेपाली परम्परागत आतिथ्यता सहित न्यानो स्वागत गरिएको थियो, जसले अतिथिप्रतिको नेपाली सम्मान र सद्भावनाको संस्कृतिलाई झल्काएको थियो। यस अवसरलाई अझ विशेष बनाउँदै डाउन सिन्ड्रोम सोसाईटीका बालबालिकासँगको आत्मीय भेटघाट तथा काठमाडौं म्यारियटमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानको समेत सम्मान गरिएको थियो।
डेभिड म्यारियटले म्यारियट इन्टरनेशनलमा २५ वर्षभन्दा लामो समय बिताइसकेका छन्। यस अवधिमा उनले होटल सञ्चालन, बिक्री व्यवस्थापन तथा विभिन्न क्षेत्रीय स्तरका नेतृत्वदायी भूमिकामा रहेर योगदान दिएको छ।
हाल बोर्ड अध्यक्षका रूपमा उहाँले १४६ देश तथा क्षेत्रमा फैलिएका ३० भन्दा बढी प्रतिष्ठित ब्रान्ड अन्तर्गत सञ्चालित ९ हजार ९०० भन्दा बढी होटल तथा सम्पत्तिहरूको विश्वव्यापी नेटवर्कको नेतृत्व गरिरहेका छन्। म्यारियटको ९८ वर्षे इतिहासमा उनी तेस्रो बोर्ड अध्यक्ष हुन् ।
यस भ्रमणमा म्यारियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टिमका सदस्यहरू पनि सहभागी थिए। टिममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निरज गोविल, प्रमुख लजिङ प्रोडक्ट एण्ड सर्भिसेज अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी थिए ।
डेभिड म्यारियटको भ्रमणले म्यारियट इन्टरनेशनलले नेपाललाई दिएको महत्वलाई थप स्पष्ट बनाएको छ। प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदाले सम्पन्न नेपालमा अन्तर्राष्ट्रिय पर्यटनको अपार सम्भावना रहेको छ। जेडब्लु म्यारियट काठमाडौं भ्याली परियोजनाले नेपाललाई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया