वैदेशिक लगानी : ४५ अर्बको प्रतिबद्धता आउँदा लगानी भने १६ अर्बमा सीमित


काठमाडौँ । मुलुकमा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आउँदा लगानी भने १६ अर्ब मात्र प्राप्त भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–बैशाख) मा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता स्वीकृत हुँदा लगानी भने १६ अर्ब ९६ करोड रुपैयाँ मात्र भित्रिएको हो ।

यो विदेशी लगानी प्रतिबद्धताको ३७.४२ प्रतिशत मात्रै एफडीआई भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा पनि ५८ अर्ब ६८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा लगानी भने १० अर्ब ५८ करोड रुपैयाँ मात्र लगानी प्राप्त भएको थियो ।

सरकारले हरेक वर्ष वैदेशिक लगानी स्वीकृत गरिरहेको हुन्छ । वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गर्ने कार्य उद्योग विभागले गर्दै गर्दा वैदेशिक लगानीको लेखाजोखा भने नेपाल राष्ट्र बैंकले गर्ने गर्छ ।

मुलुकमा वैदेशिक लगानी प्रतिबद्धता र प्राप्त वैदेशिक लगानीको अन्तर धेरै देखिएको छ । स्वीकृत भएका वैदेशिक लगानी पनि लगानीको रूपमा मुलुकमा नभित्रिँदा अर्थतन्त्रमा समेत असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।

उद्योग विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धता हेर्दा क्षेत्रगत हिसाबमा सबैभन्दा बढी लगानी प्रतिबद्धता क्रमशः कृषि, पर्यटन, उर्जा, सूचना प्रविधि लगायतका क्षेत्रमा आउने गरेको देखिन्छ ।

त्यस्तै, विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक क्षेत्रमा उद्योग दर्ता हुन्छन् ।

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा लगानी भित्र्याउने अनुमति दिने गरेको समेत विज्ञहरुको भनाइ छ । प्रतिबद्धता गर्नेबित्तिकै लगानी नभित्रिने अर्थविद् कृष्णहरि बास्कोटा बताउँछन् ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकम केही मात्रामा बढी भित्रिएको छ ।’ उनले भने, ‘लगानी प्रतिबद्धता गर्नेबित्तिकै भित्रिने भन्ने हुँदैन, केही समय लिन्छ,’

लगानीकर्ताहरूले लगानी स्वीकृतिको प्रशासनिक प्रक्रियादेखि बजारको आकारसमेत हेर्ने उनले जानकारी दिए । उनका अनुसार, लगानी स्वीकृतिका समयमा प्रशासनिक प्रक्रियालाई सहज बनाउनुप¥यो र बजारको आकार बढाउनुप¥यो । नेपालमा पूर्वाधारसहित विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उनले जानकारी दिए ।
लगानी बोर्ड र उद्योग विभागबाट अनुमति लिए पनि विदेशी लगानी राष्ट्र बैंकमार्फत आउँने उनको भनाई छ ।

विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, लगायतका क्षेत्रमा स्वीकृति लिने गरेका छन् । विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिन्छन् ।

साना उद्योगमा आकर्षण बढी

नेपालमा लगानी प्रतिवद्धता जनाउने विदेशी लगानीकर्ताहरुको आकर्षण साना उद्योगमा देखिएको छ । १० महिनाको अवधीमा ७११ साना उद्योगहरुमा लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ । साना उद्योगमा आकर्षण बढीरहँदा ठूला र मझौला उद्योगमा भने अति कम चासो देखिएको छ । १० महिनामा ८ वटा मझौला उद्योग र ९ वटा मात्र ठूला उद्योगमा प्रतिवद्धता आएको छ ।

जसमा कृषि मूलक क्षेत्रका उद्योगमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । १६ उद्योगमा २२ अर्ब ८ करोड प्रतिवद्धता स्वीकृत भएको छ । त्यसैगरी, पर्यटनमूलक क्षेत्रको १८९ उद्योगमा १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रतिबद्धता स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख गरिको छ ।

उत्पादनमूलक १० महिनामा ४२ उद्योगमा २ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्ने प्रतिबद्धता स्वीकृत हुँदा सेवा मुलक क्षेत्रका ५५ उद्योगमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रतिवद्धता स्वीकृत भएको छ भने सूचनामूलक क्षेत्रका ४२१ उद्योगमा १ अर्ब ७४ करोड रुपैयाँ स्वीकृत भएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।