काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ३२ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ३२.५३ प्रतिशत मात्र पूँजीगत खर्च भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ६६ करोड २९ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । जबकी चालु आवको बजेटमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, समिक्षा अवधीमा चालुतर्फ ९ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ जुन वार्षिक लक्ष्यको ७६.९१ प्रतिशत खर्च भएको हो । चालु आवमा ११ खर्ब ८० अर्ब रुपैयाँको चालु बजेटमा विनियोजन भएको छ ।
वित्तीय व्यवस्थातर्फ सबैभन्दा बढी ३ खर्ब ५ अर्ब रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ८१.४७ प्रतिशत खर्च भएको हो । यो वर्ष वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कार्यालयको तथ्यांकअनुसार जेठ मसान्तसम्म सरकारले कुल ११ खर्ब १० अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन वार्षिक लक्ष्यको ७२.४२ प्रतिशत हो ।
कुल राजस्वतर्फ १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ११ महिनामा १० खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ७३.०६ प्रतिशत बराबर हो ।
राजस्व संकलनमध्ये कर राजस्वको योगदान बढी रहेको छ । सरकारले जेठ मसान्तसम्म ९ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ कर राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ७४.०३ प्रतिशत हो । गैरकर राजस्व भने अपेक्षाअनुसार बढ्न नसक्दा ९९ अर्ब रुपैयाँमा सीमित भएको छ, जुन लक्ष्यको ६४.७३ प्रतिशत मात्र हो ।
अनुदान प्राप्तितर्फ पनि सरकार लक्ष्यभन्दा धेरै पछाडि देखिएको छ । चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको लक्ष्यको तुलनामा जेठ मसान्तसम्म केवल २२ अर्ब ८८ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ, जुन लक्ष्यको ४२.८२ प्रतिशत मात्र हो । यो वर्ष सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।










प्रतिक्रिया