पर्वत । फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन्।
पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुसी छन्।
उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरेका छन्। पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरे ।
यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका छन्। आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका छन्। उनले प्रतिकिलो काक्रोका बीउ दश हजार रुपैयाँमा बिक्री गरेका छन्। कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पु¥याएको छ ।
त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग-करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि एक लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।










प्रतिक्रिया