चलचित्र ‘लाली बजार’ ९ करोड बढी कमाई गर्दै शीर्ष स्थानमा, प्रदर्शनरत अन्यको कति ?


काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको हिजो आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

बक्स अफिसले चलचित्र लाली बजार, रोल नं. १, मितज्यू, काजी, लाइफ ड्यामेज र कुम्भको कारोबार विवरण सार्वजनिक गरेको हो ।

जेठ ३१ गते मध्यरातसम्मको विवरण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘लालीबजार’ ले कमाएको छ । यम थापाको निर्देशनमा तयार भएको चलचित्र लालीबजारले ३ लाख ११ हजार ४०३ टिकट बिक्री गर्दै ९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा धेरै कमाई गरेको छ ।

त्यसैगरी, दोस्रोमा जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ४७ हजार १५१ वटा टिकट बिक्री गर्दै १ करोड ३५ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र विनोद पौडेलको निर्माण रहेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् ।

तेस्रो स्थानमा रहेको चलचित्र मितज्यूले ४६ हजार १५४ वटा टिकटबाट १ करोड ३२ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ ८ गतेदेखि प्रदर्शनमा आएको हो ।

चलचित्र काजीले १४ हजार ३२४ वटा टिकट बिक्री गर्दै ४४ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ ८ गतेदेखि प्रदर्शनमा आएको हो ।
त्यसैगरी, चलचित्र लाइफ ड्यामेजले हालसम्म ११ हजार ३६१ वटा टिकटबाट ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । निमेष श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र कुम्भले हालसम्म १ हजार ६७९ वटा टिकटबाट ३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।