काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ निर्यात गर्ने विषयमा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सुझाव दिएका छन् । बैठकको शून्य समयमा सांसदहरूले वन कर्मचारीमाथि भएको आक्रमण, सीमा सुरक्षा, कर प्रणाली, महिला सुरक्षा, चिया निर्यातलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा सांसद गीता देवकोटाले कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन् । सांसद रामकुमारी झाँक्रीले पनि उक्त घटनाको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिन् ।
सांसद जगत तिमल्सेनाले करका दरमा गरिएको हेरफेरप्रति प्रश्न उठाउँदै त्यसबारे उचित छानबिन हुनुपर्ने धारणा राखे । सांसद धर्मेन्द्र पासवानले नेपाल सरकारलाई जानकारी नदिई भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेको र स्थानीयवासीको अवरोधपछि फर्किएको विषय उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया