१२ अर्बले घट्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्ने नीति लिएतापनि पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता घटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता १२ अर्बले घटेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । गत वर्षको सोही अवधीको तुलनामा यस वर्ष १२ अर्ब ९९ करोड २४ लाख रुपैयाँले कम लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ६० अर्ब ६०० करोड ९४ लाख ४३ हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म स्वीकृति तथा स्वचालित दुवै प्रणालीमार्फत कुल ९१४ उद्योगका लागि ४७ अर्ब बढीको एफडीआई प्रतिबद्धता आएको हो ।

समिक्षा अवधिमा स्वीकृतिप्रणालीमार्फत २०३ उद्योगका लागि ३९ अर्ब ९० करोड ६७ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ भने स्वचालित मार्गबाट ७११ उद्योगका लागि ७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

आईटीमा वैदेशिक लगानीको आकर्षण

वैदेशिक लगानी परियोजनाका हिसाबले आईटी अग्रस्थानमा छ । कुल ९१४ वटा परियोजना प्रस्तावमा ५७७ प्रस्ताव आईटी क्षेत्रमा देखिएको छ । यो कुल प्रस्तावको ६३.१२ प्रतिशत हो । आईटीतर्फ २ अर्ब ३६ करोड ५८ लाख ३६ हजार रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा आईटी क्षेत्रमा ३१३ उद्योगमा १ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो ।

पर्यटनका २०२ परियोजनामा १२ अर्ब ९९ करोड ७४ लाख रुपैयाँको वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ । गत वर्षको सोही अवधिमा पर्यटनका २६६ परियोजना प्रस्ताव पर्दा २३ अर्ब ९४ करोडको लगानी प्रतिबद्धता आएको थियो ।

त्यसैगरी, चालु आवको ११ महिनाको अवधीमा उत्पादनमूलक क्षेत्रका ५२ परियोजनामा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको विभागले जनाएको छ । उर्जामूलक क्षेत्रका २ परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ, सेवामूलक क्षेत्रका ६२ परियोजनामा ४ अर्ब ५९ करोड रुपैयाँ, खनिजको २ परियोजनामा ११ करोड ५० लाख रुपैयाँ प्रतिवद्धता आएको छ ।

रकमका आधारमा सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा आएको छ । विभागका अनुसार १६ वटा कृषि उद्योगका लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । पूर्वाधारमूलक क्षेत्रमा १ अर्ब ६५ करोड ४४ लाख रुपैयाँको प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागका अनुसार समीक्षा अवधिमा ८९४ वटा साना उद्योग, ११ वटा मध्यम उद्योग र ९ वटा ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १२ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।