डुम्रे । तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ । यो सडक निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ ।
तनहुँको मध्यपहाडी तथा चितवनसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको योजनाका रूपमा रहेको बुद्धसिंह मार्गलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले नमुना आयोजनाका रूपमा प्रस्तुत गर्दै आएका छन् । यद्यपि वर्षौंदेखि बजेट विनियोजन भइरहे पनि निर्माण कार्यले गति लिन सकेको छैन ।
देवघाट गाउँपालिका–२ लुङ्ग्रीङका सुन्तला किसान नवराज गुरुङले बुद्धसिंह मार्ग ग्रामीण क्षेत्रलाई बजार र सदरमुकामसँग जोड्ने मुख्य सडक भए पनि निर्माणले गति नलिँदा किसानले सास्ती भोग्नुपरेको बताए।
“जिल्लाको सबैभन्दा विकट मानिने देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने यो मुख्य सडक हो”, उनले भने, “हामीले उत्पादन गरेको सुन्तला बजारसम्म पु¥याउने प्रमुख मार्ग पनि यही हो । अन्य विकल्प सहज छैनन् । सडकको स्तरोन्नति नहुँदा ढुवानीमा समस्या भइरहेको छ ।”
देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्र सुन्तला उत्पादनको प्रमुख केन्द्र मानिन्छ । वार्षिक रूपमा उत्पादित सुन्तला घुमाउरो र कठिन बाटो हुँदै बजारसम्म पुर्याउनुपर्दा लागत बढ्ने गरेको कृषकको भनाइ छ ।
सडकको ट्र्याक खोल्ने अभियानका अगुवा तथा व्यास नगरपालिका–१३ बेलबास निवासी यामबहादुर आलेले सडकलाई कृषि मार्गका रूपमा अघि बढाइएकाले छिट्टै विकास हुने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन नसकेको बताए। “त्यतिबेला छिटो विकास निर्माण हुने अपेक्षासहित कृषि मार्गका रूपमा ट्र्याक खोलिएको थियो”, उनले भने, “अहिले हेर्दा राजमार्गका रूपमा अघि बढाइएको भए सायद छिटो विकास हुन्थ्यो कि जस्तो लाग्छ ।”










प्रतिक्रिया