स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै


रसुवा । स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो ।

उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरिदिएको सडक विभागले जनाएको छ ।  

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इञ्जिनियर कुमार पराजुलीले बताए। नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको उनको भनाइ छ ।

इञ्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उनले जानकारी दिए।

गत पुसदेखि सुरु भएको स्तरोन्नति हालसम्म करिब सात प्रतिशत काम  भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण  सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए।

“नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ । तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उनले भने ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।