चलचित्र ‘लाली बजार’ को घटेन ‘क्रेज’, हालसम्मको कमाई ९ करोड बढी !


काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको हिजो आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

बक्स अफिसले चलचित्र लाली बजार, रोल नं. १ र कुम्भको कारोबार विवरण सार्वजनिक गरेको हो ।

असार ७ गते मध्यरातसम्मको विवरण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘लालीबजार’ ले कमाएको छ । यम थापाको निर्देशनमा तयार भएको चलचित्र लालीबजारले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गर्दै ९ करोड २८ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ । बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा धेरै कमाई गरेको छ । प्रदर्शनमा आएको लामो समय बितिसक्दा पनि दर्शकहरुको पहिलो रोजाईमा चलचित्र लाली बजार नै रहेको बोर्डको तथ्यांकले प्रष्ट पारेको छ ।

दोस्रोमा जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ५७ हजार १३२ वटा टिकट बिक्री गर्दै १ करोड ५५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र विनोद पौडेलको निर्माण रहेको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् ।

त्यसैगरी, जेठ १५ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र कुम्भले हालसम्म १ हजार ८२५ वटा टिकटबाट ४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।