काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ।
साउनदेखि जेठसम्मको अवधिमा नेपालले १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात गरेको हो । त्यस्तै, सोही अवधिमा ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात गरिएको छ।
यस्तै, १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ आयात भएको छ । यता, नेपालले १ खर्ब १३ अर्ब रुपैयाँबराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, नेपालले ५३ अर्ब ६९ करोड रुपैयाँको स्पन्ज आइरन, ५२ अर्ब २१ करोड रुपैयाँको एलपी ग्यास तथा ४३ अर्ब ४५ करोड रुपैयाँबराबरका २० लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ ।
सो अवधिमा मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । ११ महिनामा एक खर्ब २२ अर्ब ८६ करोड ६३ लाख रुपैयाँँ बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले तेस्रो मुलुकबाट कच्चा आयात गरी प्रशोधन गरेर भटमासको निर्यात गर्ने गरेका छन् ।
यस्तै १२ अर्ब एक करोड रुपैयाँँ बराबरको अलैँची निर्यात भएको छ जुन गत वर्षको वार्षिक निर्यातभन्दा झन्डै दोब्बर धेरै हो । गत वर्ष कुल सात अर्ब ६८ करोड रुपैयाँँको अलैँची निर्यात भएको थियो ।
यस्तै नौ अर्ब ३८ करोड बराबर कार्पेट निर्यात भएको छ । सात अर्ब ९९ करोडको सूर्यमुखी तेल निर्यात भएको तथ्याङ्क छ । छ अर्ब १४ करोड रुपैयाँँ बराबरको पाम आयल निर्यात भएको तथ्याङ्क छ ।
११ महिनामा सबैभन्दा धेरै भारतबाट १० खर्ब ९२ अर्ब २२ करोड ४४ लाख रुपैयाँँको आयात हुँदा त्यहाँ दुई खर्ब २८ अर्ब १३ करोड १८ लाख रुपैयाँँको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि निर्यात कम हुँदा आठ खर्ब ६३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँँ व्यापार घाटा रहेको छ ।
यस्तै चीनबाट तीन खर्ब ८२ अर्ब २४ करोड ९६ लाख रुपियाँ आयात हुँदा नेपालबाट १५ खर्ब ९४ करोड ४४ लाख रुपैयाँँको निर्यात भएको छ । चीनसँग आयातको तुलनामा निर्यात न्यून हुँदा तीन खर्ब ८० अर्ब ६५ करोड ५१ लाख रुपैयाँँ व्यापारघाटा रहेको छ । मुलुकको विभिन्न १५८ मुलुकसँग वैदेशिक व्यापार रहेको छ ।










प्रतिक्रिया