काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन


झापा । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको ‘एकीकृत जाँच एकाइ’मा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको ‘एकीकृत जाँच एकाइ’ झण्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको नेपालको व्यस्त अन्तरराष्ट्रिय प्रवेशद्वार हो । यस नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत तथा ठूलो परिमाणमा मालवस्तु ओसारपसार हुने भएकाले प्रभावकारी जाँच प्रणालीको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो ।

यसअघि मेची भन्सार कार्यालय परिसरमा अत्याधुनिक ‘एक्स–रे’ मेसिनसहित एकद्वार भन्सार जाँच प्रणाली सञ्चालनमा थियो । भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा निगरानी गर्दा चोरी–तस्करी नियन्त्रणमा सहयोग पुग्नुका साथै यात्रुले सहज सेवा पाउँदै आएका थिए ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।