आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एकमात्र’ ग्यारेन्टी : रूस


रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका रूपमा व्याख्या गरेको छ । विश्वव्यापी सुरक्षा संरचना कमजोर बन्दै गएको तथा नयाँ बहुराष्ट्रिय हतियार प्रतिस्पर्धाको चिन्ता बढिरहेका बेला क्रेमलिनले यस्तो धारणा सार्वजनिक गरेको हो ।

रूस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यू स्टार्ट’गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई प्रमुख आणविक शक्तिमाथिका प्रतिबन्ध हटेका छन् । दुवै देशले उच्चस्तरीय सैन्य वार्ता पुनः सञ्चालन गर्ने सहमति जनाए पनि उक्त सन्धिको नवीकरण वा प्रतिस्थापनका विषयमा हालसम्म कुनै ठोस प्रगति भएको छैन ।

मस्कोमा आयोजित एक विदेश नीति मञ्चलाई सम्बोधन गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वव्यापी सुरक्षा प्रणाली क्रमशः कमजोर हुँदै गएको बताएका छन् ।

“आणविक प्रतिरोधबाहेक विश्वसँग अब केही बाँकी छैन । यही एकमात्र तत्व हो, जसले विश्वलाई विश्वयुद्धबाट जोगाइरहेको छ,” उनले भने ।

प्रविधिको तीव्र विकाससँगै भविष्यमा नयाँ प्रकारका गैर–आणविक हतियार विकास हुन सक्ने र ती विनाशकारी क्षमताका हिसाबले आणविक हतियारसरह हुन सक्ने उनको भनाइ थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणका क्रममा पटक–पटक आणविक हतियारसम्बन्धी अभिव्यक्ति दिँदै आएका छन् । यसलाई युरोपेली राष्ट्रहरू तथा संयुक्त राज्य अमेरिकाले गैरजिम्मेवार ‘आणविक धम्की’का रूपमा आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई समेटेर नयाँ आणविक नियन्त्रण सन्धि गर्नुपर्ने धारणा अघि सारेका छन् । चीनको आणविक भण्डार विस्तार भइरहेको भए पनि त्यो अझै रूस र अमेरिकाको तुलनामा निकै सानो रहेको बताइन्छ । यद्यपि बेइजिङले उक्त प्रस्तावप्रति सार्वजनिक रूपमा असहमति जनाएको छ ।

मस्कोले भने चीनलाई नयाँ सम्झौतामा समावेश गरिए बेलायत र फ्रान्सलाई पनि त्यसमा सहभागी गराइनुपर्ने अडान राखेको छ ।

सन् २०१० मा हस्ताक्षर भएको ‘न्यू स्टार्ट’ शीतयुद्धपछिका आणविक हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौतामध्ये अन्तिम सन्धि थियो । उक्त सन्धिले रूस र अमेरिकालाई अधिकतम एक हजार ५५० वटा तैनाथ आणविक वारहेड राख्न सीमित गरेको थियो ।

सन्धिको अवधि समाप्त हुनुअघि दुवै देशले एकअर्कामाथि सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै आएका थिए ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।