नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धी सम्झौता


काठमाडौँ । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि।कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के।सी।ले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० रुपैयाँ र सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ योगदान गरी प्रतिमहिना १ हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिनेछ ।

यसका लािग कोषले योजना सञ्चालनका लागि आवश्यक केवाईसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ भने गाउँपालिकाले सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्नुपर्नेछ । सहभागी श्रमिकले नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन् ।

पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा हराइ बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्थाअनुसार सहभागीले पाए सरह आजीवन पेन्सन उपलब्ध गराइनेछ । दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।